सूचनाको शक्ति - The Power Of Information

        

लोप हुँदै परम्परागत प्रविधि

पानी घट्टकै भरमा चल्दछ दैनिकी

पानी घटेपछि हिउँदमा घट्ट चलाउन सकिँदैन । पानी घट्टमा पिसेको खाना राम्रो हुने भए पनि पानी अभावले समस्या बल्झिँदै गएको छ ।

पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ । जिल्लाको मालिका गाउँपालिकाका केही स्थानमा पानी घट्टको प्रयोगबाट अझै पनि कुटानी–पिसानी हुने गरेको छ । एकातिर यसले परम्परागत प्रविधि जोगाएको आभास हुन्छ भने अर्कोतिर दुर्गम बस्तीका नागरिकले झेल्नुपर्ने समस्या प्रस्ट हुन्छ ।

मालिकाको ह्वाङ्दी क्षेत्रमा हालसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन । एकझर पानी परे ह्वाङ्दीको सम्बन्ध जिल्ला सदरमुकाम तम्घास मात्र नभई गाउँपालिकाको केन्द्र अर्खबाङ्गसँग पनि टुट्छ । यस क्षेत्रका नागरिक हालसम्म पनि बिजुली र बाटोको सहज पहुँचबाट बञ्चित छन् । तर, लोप हुँदै गएको पानी घट्टको प्रयोगलाई भने स्थानीयवासी गर्व गर्दछन् ।

स्थानीय पानी घट्ट सञ्चालक धनवीर घर्तीले बाबुबाजेकै पुस्तादेखि सञ्चालनमा रहेको घट्ट हालसम्म यथावत् रहेको बताए । ‘पानी घट्टमा पिसेको अन्नपात मिलमा भन्दा गुणस्तरीय हुन्छ’, उनले भने, ‘यहाँका सबैले घट्टमै पिसेको अन्नपात खान्छौँ ।’ पछिल्लो पुस्तामा हराउँदै जाने चिन्ता रहेको उनले बताएका छन् । स्थानीयवासी उपभोक्ता यमबहादुर विकले पानी घट्ट गरिबीको सारथी बनेको बताए ।

कम मूल्यमा अन्नपातको कुटानी–पिसानी गरेर प्रयोग गर्न सकिने भएकाले घट्ट अत्यन्तै उपयोगी हुने गरेको उनि बताउछन् । ‘हामीले पुराना प्रविधिलाई जोगाएका छौँ’, उनि भने, ‘हामी आफैँले बनाएका घट्ट हाम्रा लागि सबैथोक हुन् ।’ उनले आफूहरूकै सीपबाट घट्ट बनाएको बताए । आगामी दिनमा यसलाई सुधारिएको घट्टका रुपमा विकसित गर्नुपर्ने विकले बताएका छन् । मालिकाको यस क्षेत्रमा घट्टकै भरमा दैनिकी चलिरहेको छ ।

यहाँ खेतीकिसानी गरेर पानी घट्टकै भरमा दैनिकी क्रियाकलाप चलिरहेका छन् । यहाँका स्थानीयवासी पानी घट्टमा पिसेको अन्नपात गुणस्तरीय, लामो समयसम्म टिक्ने, खानामा मीठो र कुटानी–पिसानीका लागि सस्तो हुने बताउछन् । स्थानीय उपभोक्ता ८४ वर्षीया दिलमाया घर्तिमगर आफूले स्मरण गर्ने दिनदेखि नै पानी घट्ट लोकप्रिय भएको बताउछन् । उनले आफूहरूभन्दा अघिल्ला पुस्ताले नै पानी घट्टको भरमा दैनिकी चलाएको स्मरण गए ।

‘पानी घट्टबाहेक अरूमा पिसेको अन्नपात कहिल्यै प्रयोग गरिन्’, उनि भन्छन्, ‘हाम्रो गाउँमा घट्टबाटै दैनिकी चलेको छ ।’ उपभोक्ताले निकै सस्तो कुटानी–पिसानी गर्न पाएका छन् । अर्का स्थानीय उपभोक्ता ७७ वर्षीया देउमती घर्तीले पानी घट्ट सस्तो, अन्न ढिलोसम्म टिक्ने र स्वादिष्ट हुने बताउछन् । अनेत्र बिजुली र बाटो पुगेर विकास भएपछि पानी घट्ट हराएको उनले स्मरण गराए । ‘विकास भएपछि पुराना प्रविधि हराउँदै जाने रहेछन्,’ उनले भने, ‘यहाँ विकट भएर घट्ट रहे पनि पछिसम्म टिकाउनुपर्छ ।’

ह्वाङ्दी क्षेत्रका स्थानीवासी पानी घट्टमा अन्नपात कुटानी–पिसानी गर्दा सस्तो र स्वादिष्ट हुने बताउछन् । बिजुलीबाट चल्ने मिलको तुलनामा आधाभन्दा बढी सस्तो मूल्यमा पानी घट्टमा कुटानी–पिसानी हुन्छ । साथै पानी घट्टमा पिसेको अन्नपात वर्ष दिनसम्म राख्दा पनि स्वादिष्ट हुने गर्दछ । स्थानीय उपभोक्ता टोपबहादुर घर्तीले घट्टमा पिसेका मकै, कोदो र गहुँ लामो समयसम्म राख्दा पनि निकै स्वादिष्ट हुने बताए । ‘घट्टमा पिस्दा निकै सस्तो र स्वादिष्ट हुन्छ,’ उनले भने, ‘आधुनिक प्रविधिभन्दा आफैँले बनाएको घट्ट लाभदायी हुने गर्दछ ।’

उनले घट्टमा पिसेको पीठो खाना निकै मीठो हुने बताउछन् । अर्का स्थानीय विष्णुबहादुर घर्तीले पनि पानी घट्टमा पिसेको अन्नपातलाई अहिलेका आधुनिक मिलसम्म तुलना गर्न नसकिने बताए । घट्टमा पिसेर लामो समय राख्दा पनि किराहरु नलाग्ने उनले बताए । ‘घट्टमा पिस्दा आर्थिक भार बढ्ने कुरा भएन,’ उनले भने, ‘स्वास्थ्यका लागि पनि अन्नपात निकै लाभदायक हुन्छ ।’ उनले सकेसम्म घट्टमा पिसेको अन्नपात प्रयोग गर्नु राम्रो हुने बताए ।

स्थानीय घट्ट सञ्चालक सुन्तले विकले खोला सुक्दै गएकाले घट्ट चल्न समस्या भएको गुनासो गरे । ‘पानी सुक्दै गएपछि घट्ट चलाउन समस्या भइरहेको छ,’ उनले भने, ‘वर्षायामको समयमा मात्र चलाउँदै आएका छौँ ।’ पानी घटेपछि हिउँदमा घट्ट चलाउन नसकिएको उनले बताए । तुलानात्मक रुपमा हेर्दा पानी घट्टमा पिसेको खाना राम्रो हुने भए पनि पानी अभावले समस्या बल्झिँदै गएको छ ।

स्थानीय उपभोक्ता रेखा खड्काले पानी घट्टलाई पछिल्लो पछिल्लो पुस्तासम्म निरन्तर टिकाइराख्न आवश्यक रहेको बताए । तर, दिगो सञ्चालनका लागि कसैले ध्यान नदिँदा पानी घट्ट विस्थापित हुने चिन्तामा खड्का छन् । ‘बिजुली मिलमा महँगो पर्छ र अन्न छिट्टै बिग्रन्छ,’ उनी भन्छन्, ‘पानी अभावले घट्ट हराउने चिन्ता हामीमा छ ।’ पानीका मुहान सुक्दै गएकाले अन्य मूलको पानी मिसावट गरेमा मात्र घट्ट निरन्तर चल्ने सक्ने उनको भनाइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १७:२७