सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज नाकाबाट बढ्दै नेपाली सामग्रीको निर्यात

नेपालगन्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको नौ महिनामा निर्यात बढेको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८–०७९ भन्दा चालु आव २०७९–०८० मा निर्यात करिब एक करोड रुपैयाँले बढेको हो ।

अघिल्लो आवको साउनदेखि चैत मसान्तसम्म एक अर्ब ७९ करोड ९१ लाख ४० हजार रुपैयाँ मूल्यका विभिन्न सामग्री निर्यात भएकोमा चालु आवमा एक अर्ब ८० करोड ६२ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको सामान भारततर्फ निकासी भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आवमा निर्यात भएका सामानमा जडीबुटी, रिठ्ठा अघिल्लो आवभन्दा बढी छ । यसैगरी चालु आवमा प्लाउड भारततर्फ निकासी हुन थालेपछि राजश्व बढेको छ ।

नेपालगन्ज भन्सार कार्यालयबाट गत आवको साउनदेखि चैतसम्म ६१ अर्ब ५१ करोड ९० लाख २४ हजार रुपैयाँ मूल्यको सामान आयात भएकोमा चालु आवमा आयात घटेको छ । चालु आवको सोही अवधिमा ४९ अर्ब ७२ करोड ३४ लाख ७५ हजार रुपैयाँ मूल्यको सामग्री मात्र आयात भएको छ ।

‘देशभरीजस्तै नेपालगन्ज भन्सारमा भारतबाट हुने आयात घटेको छ,’ कार्यालयका सूचना अधिकारी शर्माले भने, ‘आयात घट्नु आर्थिक मन्दीसँग पनि जोडिएको छ ।’ भन्सार कार्यालयका अनुसार अघिल्लो आवको साउनदेखि चैतसम्म व्यापार घाटा ९७.०९ प्रतिशत रहेकोमा चालु आवमा ९६.३७ प्रतिशत रहेको छ ।

यसैगरी गत आवमा आयात निर्यातअनुपात ३४.३४ प्रतिशत रहेकोमा चालु आवको चैतसम्म २७.५३ प्रतिशत रहेको छ । चालु आवको चैतसम्म आयातअनुपात १९.१७ प्रतिशतले घटेको छ भने निर्यात अनुपात ०.८३ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आवमा डिजेल, पेट्रोल, चिनी, एलपी ग्याँस, चामल लगायतको आयात घटेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १२:२३