सूचनाको शक्ति - The Power Of Information

        

बिचौलियाहरुलाई करोडौं कमिशनको प्रलोभन

बालुवाटारका कमरेडहरुसँगको सेटिङमा निगममा कार्यकारी अध्यक्षको रजगज

निगम व्यवस्थापनले बिग्रिएको इन्जिन इजरायली आइएआई कम्पनीलाई मर्मतका लागि दिएर करोडौं कमिशन खाएको आरोप छ ।

मन्त्रिपरिषद्बाट बर्खास्त नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अदालतमा सेटिङ मिलाएर जागिरे अवधि लम्ब्याएका मात्र छैनन्, बालुवाटार निकट कमरेडहरुसँग सेटिङ मिलाएर पर्यटनमन्त्री सुदन किरातीलाई गुमराहमा राखेको समाचार छ ।

अध्यक्ष अधिकारीले बालुवाटारका बिचौलियाहरुलाई करोडौं कमिशनको प्रलोभन दिएर दुई वटा न्यारोबडी, दुईवटा एटिआर विमान खरिद गर्ने योजना बनाएका छन् । उक्त जहाजबाट आउने कमिशनमध्ये करिब १० करोड रुपैयाँ प्रधानमन्त्री प्रचण्डलाई दिने बचनबद्धता गरेको कुरा अधिकारी निकट निगमका कर्मचारीले बताएका छन् ।

पर्यटनमन्त्री किरातीले केही समय अगाडि सामाजिक सञ्जालमार्फत अध्यक्ष अधिकारीसँग ५ प्रश्न सोधेका थिए, त्यसको पनि सतही जवाफ दिएर टारेका छन् । हरेक कुरामा ढाँट्न सिपालु अधिकारीले मन्त्री किरातीलाई बालुवाटारको आडमा ढाँट्दै आएका छन् ।

कताबाट कमिशन आउँछ भन्ने ध्याउन्नबाहेक निगम व्यवस्थापन सुधारमा के गर्नुपर्छ भन्ने चिन्ता नभएका कार्यकारी अध्यक्ष अधिकारीलाई गत भदौमा सिंगो सञ्चालक समितिका सदस्यहरुलाई १२ बुँदे स्पष्टीकरण सोधेका थिए । कार्यकारी अध्यक्ष अधिकारीले त्यतिबेला पनि बोर्डका सदस्यहरुलाई ढाँटेर निगममा लुट मच्चाएको कारण सञ्चालकहरुले अध्यक्षसँग १२ बुँदे स्पष्टीकरण माग्न बाध्य भएका हुन् ।

त्यतिबेला अध्यक्ष अधिकारीसँग निगमको न्यारोबडी एयरबस ३२० विमान (९एन–एकेडब्लु)को इन्जिनमा खराबी देखिएर ३१ जुलाई २०२२ देखि ग्राउन्डेड भएको र उक्त विमान भाडामा लिइएको इन्जिनको रकम जहाज नउडे पनि दैनिक भुक्तानी गर्नुपर्ने बाध्यता रहिरहेको अवस्थामा बिग्रेको इन्जिन मर्मतको प्रक्रिया हालसम्म किन सुरु भएन ? भन्दै बोर्डले कार्यकारी अध्यक्ष अधिकारीसँग स्पष्टीकरण सोधेको थियो ।

त्यसैगरी ग्राउन्डेड जहाजको अर्को इन्जिन पाँच महिनाअघि भाडामा लिइएको, जसको दैनिक दुई हजार अमेरिकी डलर अनिवार्य बुझाउनैपर्ने शर्त राखेर अधिकारीले कमिशन खाँदै आएका थिए । सोही जहाजको इन्जिन बिग्रिएर मर्मत–सम्भारका लागि पठाइएकोमा आठ महिना पुग्न लाग्दा पनि मर्मत नगर्नुको कारणबारे पनि बोर्डले सोधेको थियो ।

कतारको दोहामा अवतरण गर्ने क्रममा जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज कतारमै ७० दिन ग्राउन्डेड भएको थियो । निगम व्यवस्थापनले बिग्रिएको इन्जिन इजरायली आइएआई कम्पनीलाई मर्मतका लागि दिएर करोडौं कमिशन खाएको आरोप छ । त्यस्तै, दैनिक साढे सात लाख रुपैयाँसम्म भाडा तिर्ने गरी एमटियू नामक कम्पनीसँग इन्जिन भाडामा लिएको विषयमा पनि सञ्चालक समितिले स्पष्टीकरण सोधेको थियो ।

२१ दिनलाई भनेर भाडामा लिइएको जहाजको इन्जिन पाँच महिना नाघिसक्दासमेत फिर्ता नगर्नुको कारण पनि स्पष्टीकरणमा सोधिएको थियो । बोर्डले भाडामा लिइएको इन्जिन हालसम्म फिर्ता नगरेर कमिशन खाएको आरोप अध्यक्ष अधिकारीमाथि लगाएको थियो । निगमको आन्तरिकतर्फ प्रयोगमा रहेका विमानहरूमध्ये ९एन–एबिएक्स विमान भाडामा पनि घोटाला भएको थियो ।

सञ्चालक समितिका सदस्यले कार्यकारी अध्यक्षमाथि भ्रष्टाचारका विषयमा स्पष्टीकरण सोधेको सम्भवतः यो नै पहिलो घटना हो । निगमभित्र यौन दुराचारी, भ्रष्ट र असक्षम भनेर चिनिएका अधिकारीले आफ्नो कमजोरी लुकाउन जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई गत चैत मसान्तमा ५३ करोड ९ लाख ५५ हजार ब्याज तिरेको प्रचार गरेका छन् । यो प्रचार मन्त्री र प्रधानमन्त्रीलाई झुक्याउन गरिएको प्रचार भएको निगम कर्मचारीले बताएका छन् ।

वाइडबडी र न्यारोबडी जहाज किन्न लिएको ऋणको भुक्तानी गर्ने सामान्य प्रक्रिया भए पनि ब्याज तिरेकै कुरालाई प्रचार प्रसार गर्नु उनको बौद्धिक दरिद्रता भएको कर्मचारीहरु बताउँछन् । निगम स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारीको समयमा निगम करोडौं नोक्सानी भएको बताइएको छ । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले अध्यक्ष अधिकारीले भ्रष्टाचार गरेको प्रमाण पाएपछि तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

उक्त छानबिन प्रतिवेदन मन्त्रिपरिषद्मा पेश भएपछि मन्त्रिपरिषद् बैठकले २०७९ असार ९ गते अध्यक्ष अधिकारीलाई निलम्वन गरेको थियो । तर, दुर्भाग्य सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठसँगको सेटिङमा उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । जसका कारण मन्त्रिपरिषद्ले भ्रष्टाचारको आरोपमा बर्खास्त गरेको एउटा कर्मचारीको निगममा रजगज छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १०:०८