बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।
करैयामाई र सुवर्ण गाउँपालिकाको मत गणना सकिंदा यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् ।
यादव र कुशवाहबीचको मतअन्तर ४ हजार ४२६ छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले १९४१ मत पाएका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन् । अहिले गढीमाई नगरपालिका र पचरौता नगरपालिकाको मतगणना जारी छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपाका उम्मेदवार राम सहाय प्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि रिक्त भएको सांसद पदपूर्तिका लागि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।
सत्यपाटी संवाददाता । बारा