सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा महाभूकम्प गएको आज आठ वर्ष पूरा

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज (मंगलबार) आठ वर्ष पूरा भएको छ ।

वि.सं. २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.६ रेक्टरस्केलको भूकम्प गएको आज आठ वर्ष पूरा भएको हो ।

त्यसबेला भूकम्पमा परी ८ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए ।

हजारौं निजी तथा सार्वजनिक घर तथा भवनहरु ध्वस्त भएका थिए । यस अवधिमा निजी घरहरुको निर्माण तथा पुननिर्माण सकिए पनि ऐतिहासिक तथा साँस्कृतिक धरोहर तथा सम्पदाहरुको पुनर्निर्माण भने अझै पुरा हुन सकेको छैन ।

८ लाख ३२ हजार ४ सय ७० पीडितले सरकारबाट पहिलो किस्ताको रकम लिएका छन् । तर, अझै ६६ हजार ६ सय ९ पीडितले हालसम्म दोश्रो किस्ता रकम नपाएको भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय योजना कार्यान्वयन इकाइले जनाएको छ ।

रकम लिएका मध्ये पनि कतिले घर बनाए भन्ने रेकर्ड सरकारसँग छैन । सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । पुननिर्माणमा झण्डै चार खर्ब रुपैयाँ खर्च भइसकेको छ ।

तर, सरकारले डिजाइन गरेको भूकम्प प्रतिरोधी घरहरु सर्वसाधारणको आवश्यकता पूरा गर्ने खालको नहुँदा सर्वसाधारणले चासो दिन छाडेका छन् । सरकारले बनाएका अधिकांश एकीकृत नमुना बस्तीमा पनि मानिसहरु बसेका छैनन् ।

भूकम्प स्मृति दिवसका अवसरमा मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०८:५५