सूचनाको शक्ति - The Power Of Information

        

यात्रीले चलाएको बहस

‘नेपाली उत्पादनलाई अध्यादेश ल्याएर दर्ता गर्नुपर्छ’

अब नेताहरूले गर्छु भनेर बस्ने अवस्था छैन, यो भनेको गरेर देखाउने समय हो ।

भीम उपाध्यायले केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर सात वटा बुँदामा देश बनाउने र देशमा भएका समस्यालाई चिर्नको लागि सुझावहरू दिएका छन् । काम गर्ने युवालाई राज्यले नहेरेको भन्दै युवा आक्रोशित छन् ।

नेपाली युवाले बनाएको दुई पाग्रे सवारी मोटरसाइकल नेपालमै चलाउन सरकारको पक्षबाट केही सहयोग नभएको गुनासो युवाहरुले गरेपछि यो विषय सामाजिकल सञ्जालमा चर्चामा छ । उपनिर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा यसले राजनीतिमा एक किसिमको तरंग ल्याएको छ । यी र यस्तै विषयमा आधारित रहेर पूर्व सचिव भीम उपाध्यायसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

देशमा भएको उपनिर्वाचनलाई कसरी हेर्नु भएको छ ?

गएको निर्वाचनबाट नयाँ दल आए । त्यसले पुराना दलहरूलाई अलिकति पछाडि धकेलेको छ । त्यस कारण सबैको चासो उपनिर्वाचनमा पनि नयाँ दलतर्फ नै देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगमनले यथास्थितिवादी दललाई पछाडि धकेलेको छ । नयाँ दललाई मौका दिएको छ । यसलाई निर्वाचन क्षेत्र बाहिरका मानिसले पनि ध्यान दिएका छन् । नयाँ दलका सर्मथक देशमा मात्र होइन विदेशमा पनि धेरै छन् । त्यसले यसको चर्चा र आकर्षण दुवै देखिन्छ ।

नयाँ दलप्रति जनताको मोह किन देखियो ?

अहिलेको दलीय व्यवस्थापनप्रति जनता आजित भएका छन् । राजनीति सेवा हो व्यापार होइन भन्ने बुझेर जनताले मत हालेका छन् । नेपालको अर्थतन्त्र खराब अवस्थामा पुगेको बताइन्छ । तर नेपालमा बनेको यात्री, विद्युतीय मोटरसाइकल दर्ता गर्न दिइएको छैन । देश र जनताका निम्ति कानुन नबनाउने भएपछि हामीलाई किन चाहियो जनप्रतिनिधि ? जनप्रतिनिधि भन्दा पनि पहिला यहाँ ब्युरोक्रेसिको कुरा हुन्छ । कानुन नियम सही बनाउनुपर्छ ।

नेपालीले उत्पादन गरेको सवारी साधन सुरक्षित छ कि छैन भनेर जाँच गरेर अगाडि बढ्नुपर्छ । यदि त्यसमा समस्या भए सुधारको पाटो यो हो भनेर समयमा नै भन्नुपर्छ । अहिले उद्योग मन्त्रालय र यातायात मन्त्रालय के काम भन्ने अवस्था आइसक्यो । नेपाली युवाले उत्पादन गरेको विद्युतीय मोटरसाइकल अध्यादेश ल्याएर भए पनि दर्ता खुला गर्नुपर्छ । नेपालमा नै बसेर कसैले केही गर्छु भनेर आउँछ भने प्रोत्साहन गर्नुपर्छ । उसलाई हौसला प्रदान गर्नुपर्छ ।

एउटा व्यक्तिले देशमा बनाएको विद्युतीय सवारीलाई चलाउन अनुमति पाउँदैन भने दोष कसले लिने ?

कानुनी प्रक्रिया आज बोलेर भोलि नै बन्ने हुँदैन । यसको प्रक्रिया ढिलो हुन्छ । राजनीतिक कुरामा छिटो कानुन बन्छ । तर यस्ता कुरामा ढिलो हुन्छ । सांसदमा पनि योग्य व्यक्ति पुगेनन् । सांसदले यस्ता कुरामा विशेष चासो दिनुपर्छ । बाहिर हरेक सांसदले कानुन बनाउँछन् । सरकारले काम दिएन भने यहाँको सांसदको काम छैन ।

तपाईंले भर्खरै प्रधानमन्त्रीलाई केही ध्यानाकर्षण गर्नुभएको छ, के प्रतिक्रिया पाउनुभयो ?

मैले केही सुधार गर्न सकिन्छ कि भनेर कुरा राखिराखेको छु । प्रधानमन्त्री कार्यालयमा यी कुराको ध्यानाकर्षण भएको छ । पहिलाको प्रचण्ड र अहिलेका प्रचण्डमा धेरै फरक छ । अब धेरै समय गयो । सबैलाई मिलाएर लानुपर्छ भन्ने पनि भएको छ । अब केही गर्नुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्छ । विश्वास गरौँ ।

तपाईंले बुझाउनु भएका सात बुँदामध्ये बुँदा नम्बर ३ मा नेपालका जेलमा गाँजा प्रकरणमा रहेका कैदीलाई अन्य अपराध गरेका छैनन् भने आम माफी दिएर छोड्नुपर्छ भन्नु भएको रहेछ । यसको के प्रतिक्रिया पाउनु भएको छ ?

लेखेर नीतिगत रूपमा आउँछ भन्ने जवाफ पाएको छु । नीति आयो भने गाँजा बारेमा यो पटक केही संकेत आउँछ । गाँजाको विरुद्धमा जे भ्रम छ त्यो चिर्नुपर्छ । पहिलाको त्यो भ्रमलाई अहिले जडीबुटीको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुराले काटेको छ । अहिले भृकुटी मण्डपमा गाँजाबाट बनेका जडीबुटी प्रदर्शन भएका छन् । नेपालमा पनि औषधिहरू बन्दो रहेछ । गैर कानुनी रूपमा करोडौँ रुपैयाँको गाँजा बिक्री भएको छ ।

त्यसलाई खुला गर्याे भने गैर कानुनी रूपमा पैसा कमाउनेले त कमाउन पाएनन् । अहिले असाध्यै रोग बढेको छ । त्यसको उपचार गाँजा हो भनेर अध्ययनले प्रमाणित गरेको छ । अब नेपाले पनि यसको फाइदा लिनुपर्छ । मोटर साइकलको कुरामा सबै लागेर सरकारलाई भन्नुपर्छ सरकारले खराब पक्ष छ भने यो खराब के हो ? भन्नुपर्छ र सुधार गर्ने बाटो खुला गर्नुपर्छ । अब नेताहरूले गर्छु भनेर बस्ने अवस्था छैन, यो भनेको गरेर देखाउने समय हो । (एभिन्युजसँगको सहकार्यमा खबरहबमा प्रकाशित अन्तवार्ता ।)

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०९:०१