सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

उडान भरेलगत्तै फ्लाई दुबईको जहाजमा के भएको थियो ?

फ्लाई दुबईले भन्यो, ‘जहाजमा चरा ठोक्किएपछि समस्या आएको हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा खराबी देखियो । विमानस्थलबाट उडान भरेलगत्तै उक्त जहाजको इन्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो ।

विमान चालक (पाइलट)ले धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झन्डै ११ मिनेट जहाज ‘होल्ड’ गरेर इन्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिंगल इन्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो ।

त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए । टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्यमा जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अरू जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्यान्डबाई’ गरियो ।

यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले जहाज गन्तव्यमा पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो ।

काठमाडौंमा किन जहाज अवतरण गरिएन ? भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपुर्जा जाँच गर्दा ठिक रहेको र गन्तव्यमा पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि त्यतातिर लागेको बताए । उनले भने, ‘पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ । दुवै देशमा उडान गर्ने जहाज हो । समस्या आएन भने दुबईमा नै जहाज अवतरण हुन्छ ।’

यस्तो किसिमको घटनामा जहाज काठमाडौंमा अवतरण गर्न सहज हुन्छ ? भन्ने थप जिज्ञासामा सहायक प्रवक्ता भुलले त्यस किसिमको सबै क्षमता विमानस्थलमा रहेको र कथमकदाचित जहाज अवतरण गर्नुपरेको भए विमानस्थलमा अवतरण गर्न सकिने उनले बताए । ‘जहाजको इन्जिनको कम्प्रेसर स्टल भएर ठूलो आवाज आएको हो कि भन्ने आशंका गरिएको छ । यसको विस्तृत जानकारी आएको छैन,’ सहायक प्रवक्ता भुलले भने ।

नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर, दुबईमै अवतरण भएकाले त्यहाँको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । जहाजमा आगो लागेको इन्जिन बन्द गरिन्छ । सिंगल इन्जिनमा जहाज उड्छ । तर, गति कम हुन्छ ।

गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट)सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ ।

फ्लाई दुबईले भन्यो, ‘जहाजमा चरा ठोक्किएपछि समस्या आएको हो ।’

फ्लाई दुबईको विमानमा चरा ठोक्किएपछि समस्या आएको खुलेको छ । सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै विमानमा समस्या आएको थियो । विमानमा समस्या आएपछि अवतरणको प्रयाससमेत गरिएको थियो । तर, अवतरण नभएरै विमान आफ्नो गन्तव्यतर्फ लागेको थियो ।

काठमाडौंस्थित विमानस्थलका अधिकारीहरूले विमानको इन्जिनमा समस्या देखिएको बताएका थिए । तर, फ्लाई दुबईका प्रवक्ताले विमानमा चरा ठोक्किएकाले समस्या आएको बताएका छन् । फ्लाई दुबईले विमानमा देखिएको समस्या समाधान भएर सुरक्षित र सामान्य रूपमा गन्तव्यतर्फ लागेको बताएको छ ।

‘काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भएको केही समयमै चरा ठोक्कियो । विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ भइरहेको छ,’ फ्लाई दुबईका प्रवक्ताले भनेका छन् । आकाशमा उडिरहेको विमानमा समस्या देखिएपछि सर्वसाधारणमा त्रास छाएको थियो ।

स्रोत : रासस
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०७:५०