सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन : तनहुँ १

तनहुँ १ बाट भारी मतसहित रास्वपाका वाग्ले निर्वाचित

प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो ।

०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचन जितेका वाग्ले अर्थविद् हुन् ।

उनी राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनी २०७४ साउन १९ गते आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा आयोगको सदस्य बनेका थिए । वाग्लले अष्ट्रेलियाको अष्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनले विश्व बैकको मुख्यालय, वासिङ्टन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । वाग्लेले पार्टी परिवर्तन गरी चुनाव लडेका हुन् ।

उनले गएको चैत १६ गते कांग्रेस परित्याग गरेका थिए । त्यसपछि रास्वपा प्रवेश गरी उमेदवार बनेका हुन् । त्यसअघि, उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनेका थिए । साथै, स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्रको मस्यौदा समितिमा पनि सक्रिय रहेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०७:४२