सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार पनि ढलेको छ । मुख्यमन्त्री लीला गिरीले आजको प्रदेशसभामा विश्वासको मत नपाएपछि सरकार ढलेको हो ।

गिरीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खस्यो । गत पुस २७ गते मुख्यमन्त्री नियुक्तमा नियुक्त गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेको हो ।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन् । त्यसक्रममा उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दाबी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि शनिबार विश्वासको मत नपाएर पदमुक्त भइसकेका छन् । दुवै मुख्यमन्त्री अब कामचलाउ सरकार बनेका छन् । अर्को मुख्यमन्त्री नआउन्जेलसम्म प्रशासनिक कार्य मात्र गर्न पाइनेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:००