सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभा बैठक

लुम्बिनीमा एमाले सरकार ढल्ने निश्चित

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर मुख्यमन्त्री लिला गिरीका पक्षमा ३३ सांसद मात्र हुनेछन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट विस्वासको मत लिन लागेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले चैत १२ गते फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले आज विश्वासको मत लिन लागेका हुन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ ।

एमालेका २९ र राप्रपाका ४ गरी गिरीका पक्षमा ३३ सांसद मात्र हुनेछन् । राप्रपा र एमालेबाहेक गिरीको विपक्षमा मत हाल्ने सांसदको संख्या ५३ देखिन्छ । यसो हुँदा लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित छ । यसअघि गण्डकीमा एमाले नेतृत्वको सरकार ढलिसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १०:०४