‘महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ, हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी, घरशान्ति नै विश्वशान्तिको आधार : महिलाहिंसा विरुद्ध शून्य, सहिष्णुता कायम गरौँ’ भन्ने नाराका साथ डिसेम्बरमा धुमधामका साथ लैङ्गिक हिंसाविरुद्धको अभियान मनाइएको थियो । अभियानको अवसरमा ठाउँमा ठाउँमा माथि उल्लेख भएको नारा अङ्कित प्लेकार्ड झुन्डाइएका थिए । महिला हिंसाविरुद्ध आवाज उठाउने भन्दै आधिकारिक रुपमै नेपालमा धेरै सङ्घसस्था खोलिने क्रम अहिले पनि जारी छ ।
तिनले सरकारी तथा गैरसरकारी सङ्घसस्थाको हैसियतमा निरन्तर काम गरिरहेकै छन् । महिला हिंसाविरुद्ध आवाज अन्तर्राष्ट्रिय रूपमा एकत्रित हुँदै आइरहेको छ । सञ्चार माध्यमले पनि महिला हिंसासँग सम्बन्धित समाचार सामग्रीलाई बढी नै प्राथमिकताका साथ दर्शक, श्रोता तथा पाठक माझ प्रस्तुत गर्ने गरेका छन् । आफूमाथि भएका हिंसा विरुद्ध विश्वव्यापी रुपमा महिलाहररु गोलबद्ध भइरहेको परिप्रेक्ष्यमा वास्तविकता भने अलि भिन्नै छ ।
लैङ्गिक हिंसा तथा घरेलु हिंसाका कारण पीडित महिलाको सङ्ख्या बढिरहँदा त्यसको कारक अर्थात् पीडक पनि धेरै जसो महिला नै हुने गरेका छन् । जस्तै, सासुले बुहारीमाथि गर्ने हिंसा, बुहारीले वृद्ध सासुमाथि गर्ने हिंसा, नन्दले भाउजुमाथि अनि भाउजुले नन्दमाथि । योसँगै जेठानीले देउरानी र देउरानीले जेठानीमाथि गर्ने हिंसा किन नहोस् हिंसक र पीडित दुवै महिला भएको पारिवारिक रूपमा भएकै छन् । परिवारमा जसरी नै समाजमा पनि महिलासँग महिलाकै उत्पीडन देखिन्छ । सामान्य तिज तिहार विवाह व्रतबन्ध आदिमा देखिन्छ ।
टोलछिमेकका धनीमानी भनाउँदा परिचित कतिपय महिलाले हेपेर बोल्दै निर्धन निमुखा महिलालाई मानसिक पीडा दिन्छन् । लगाएका लुगा र गहनाकै कारण हेला गरेर बोल्दा मन दुखाएको समेत नदेखिने होइन । यो पनि मानसिक हिंसा नै हो । पुरुषले त्यसरी सानातिना कुरामा बरु हेपेको देखिँदैन । दहेज प्रथामा पनि बढी महिलाको भूमिका देखिन्छ । कसले कति दहेज ल्यायो भन्ने महिलालाई धेरै चासो हुन्छ । राज्यले नै महिला हिंसाको विषयमा बढी प्राथमिकता दिइरहँदा हाम्रो समाजमा दिनानुदिन पुरुष उपर भइरहेको हिंसा भने थिचिएरै रहेका छन् ।
महिलामाथि हिंसा भयो, सुनिदिने थुप्रै निकाय छन् । मुलुक सङ्घीय संचरनामा गएको छ । बस् महिलाले ‘ममाथि हिंसा भएको छ’ भन्नु मात्रै पर्छ । स्थानीय तहमा वडासम्मै महिलाको विषयमा वकालगत गर्ने सङ्घसस्था सक्रिय हुन्छन् । तर पुरुषमाथि हुने हिंसाको विषय हाम्रो समाज मौन छ ।पुरुषले पीडित हुनुपरेको समस्यालाई गौण मानिन्छ । यस्ता विषयमा न त पुरुष नै खुलेर आउन सक्छन्, न त पुरुष अधिकारको विषयमा आवाज उठाउने त्यस्ता संघसस्था नै छन् ।
‘मलाई श्रीमानले दिनहुँ कुटपिट गर्छन्,’ यही वाक्य एक श्रीमतीले सजिलै भन्न सक्छिन् । तर ‘म श्रीमतीबाट दिनहुँ कुटिनुपरेको छ’ सामाजिक संचरनाका कारण पनि कुनै श्रीमानले बाहिर खुलेर भन्न सक्दैन । किन ? किनकी त्यसो भनिरहँदा उसलाई समाजले ‘जोइटिंग्रे’को बिल्ला भिराइदिन्छ । जसका कारण ऊ थप पीडित मात्रै हुनपुग्छ । न्याय पाउनु कुरो त अलि परकै ।
पारिवारिक भूमिका निर्वाह र पुरुषले भोग्ने पीडा
पारिवारिक भूमिका निर्वाह गर्ने पुरुषले अप्रत्यक्ष रुपमा कैयन् पीडाहरु सहिरहेका हुन्छन् । तर त्यस्ता पर्दा पछाडिका पीडा न त समाजले बुझेको हुन्छ न त आफ्नै परिवारका सदस्यले । एकै समाजमा उस्तै पीडा समान रुपमा पुरुषले भोगिरहेका भए पनि आ–आफू नै चुपचाप बसेर मनमनै पिरोलिइरहेका हुन सक्छन्, तर साझा समस्यका रुपमा बाहिर ल्याएका हुँदैनन् ।
नारी र पुरुष सृष्टिका निमित्त एकार्कामा परिपुरक हुन् । पतिपत्नीलाई एक रथको दुई पाङ्ग्राको संज्ञा दिएको छ । हाम्रो चलेको संस्कार रीति अनुसार अविवाहित पुरुषले विवाह गर्छ । जीवनसाथीको रुपमा उसले अर्कै परिवारकी सदस्यलाई आफ्नै जिम्मामा घर भित्र्याउँछ । जो छुट्टै परिवेश, छुट्टै संस्कार, बेग्लै किसिमको उठबस, लवाई खवाईमा हुर्केकी हुन्छे ।
उसलाई आफ्नो परिवारमा समायोजन गर्ने पहिलो प्राथमिकता तिनै पुरुषको हुन्छ । जुन काम उसका बाबु, बराजुले पनि गरेका थिए । नेपाली समाजमा दुई भिन्न ध्रुवमा रहेका परिवार जोड्ने सेतुको काम पनि पुरुषले नै गर्छ । अथवा भनौँ तिनै पुरुष महिला दुईका दाम्पत्यले गरेको हुन्छ । फरक परिवेशका परिवार मिले सबै ठिकठाक हुन्छ । तर भने जस्तो भएन भने थप विवाद र असमझदारी बढ्दै जान्छ ।
आपसमा ठाकठुक हुन्छ । अनि त्यसबपत उत्पन्न हुने पीडाको सामना पनि बिचरा त्यही पुरुषले भोग्नुपर्छ । नेपाली समाज सूक्ष्म रुपमा अध्ययन गर्दा जति नै परिवर्तन र परिष्कृत भए तापनि खासमा समाजको तितो वास्तविकता यही हो, जहाँ सासुले बुहारी र बुहारीले सासुको अस्तित्व सहजै स्वीकार्न सक्दैनन् । त्यसको बीचमा रहेका असल श्रीमान् तथा छोराहरु यसको पीडा भोग्न बाध्य हुन्छन् ।
जिम्मेवार पुरुषलाई आमा र श्रीमती दुवैको कुरा सुन्नुपर्छ । जो गैरजिम्मेवार छ त्यसको कुरै नगरौँ । जन्म दिने आमाका ठाउँमा आमालाई राख्न खोज्छ भने जीवनभर साथ दिन्छु भन्दै अग्निसाक्षी राखी सम्बन्ध गाँसेकी जीवनसँगिनीलाई पनि उस्तै माया र सम्मान दिनुपर्ने बाध्यता उसको हुन्छ । त्यो पुरुषका लागि दुवै नारीसँगको नाता अति बढी संवेदनशील हुन्छ ।
सबैलाई थाहा छ, घरमा सासूबुहारीबीच बेमेलको वातावरण सृजना हुँदा एक पुरुष अति नै असहज स्थितिबाट गुज्रिरहेको हुन्छ । कसलाई स्विकार्नु ? अनि कसलाई त्याग्नु ? आपसमा मिल्दै नमिल्नेलाई कसरी मिलाउनु ? पुरुषले भोग्ने यस्तो पीडाका बारेमा कहिँ कतै आवाज उठेको छैन । बरु तिनै सासुबुहारीलाई उचालेर बाहिरी तत्वले परिवारभित्र खेल्ने गर्दछन् । जसको पीडा पनि त्यही पुरुषले भोग्नुपर्छ ।
मोजमस्ती गरिन्जेल स्वागत, स्वार्थ अनुरुप नभए बलात्कार । यस्ता घटनाले निर्दोष पुरुष पनि बलात्कार जस्तो जघन्य अपराधमा फसिरहेका छन् । ती निर्दोष पुरुषहरुको वकालत कसले गर्ने ?
वैदेशिक रोजगार र पारिवारिक विचलन
गरिबी, बेरोजगार अनि राजनीति उतारचडाबका कारण चालीस लाखभन्दा बढी नेपाली युवा रोजगारिका लागि अहिले विदेशमै छन् । खुसी परिवार अनि सुन्दर भविष्यको सपना कल्पँदै उड्ने धेरै युवाको सपना पूरा हुँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देहसँगै उडेको सपनाले अवतरण समेत गर्न पाउँदैन । जसको कथाव्यथा दर्दनाक छ । अनि त्यसबाट पनि तिनै पुरुष पीडित हुन्छन् । तर आवाज उठाइदिने कोही छैन ।
परिवारबाट धेरै टाढा बिरानो मुलुक पचास डिग्रीको घाममा लगातारको परिश्रम यस्ता पीडाको बावजुद पनि नेपाली युवाहरु विदेश जान बाध्य छन् । कारण ? प्रस्टै छ, सुखी परिवार अनि सुन्दर भविष्य । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा तिनै पुरुषहरुले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको छ । हुन त वैदेशिक रोजगारीमा गएका महिला पनि छन् । उनीहरुको रेमिट्यान्स पनि मुलुक चलाउनका लागि सहयोगी छ । यो उपन्यास पुरुषको पीडाका पक्षलाई नै केलाउने भएकाले त्यसमै केन्द्रित छ ।
मुलुकले ती पुरुषहरुको समस्या बुझ्दैन । मुलुकले त बुझेन परिवारका सदस्यले समेत उनीहरुको योगदान र समस्या नबुझ्दाको पीडा निकै कहाली लाग्दो छ । ‘वैदेशिक रोजगारले नेपालीको जीवनस्तर उकासिएको छ । समाजलाई सूक्ष्म रूपले नियाल्दा पारिवारिक विचलनको अवस्था भने डर लाग्दो छ ।’ एउटा पुरुष विदेश जान्छ । दिनरात नभनी काम गर्छ । कमाएको पैसा श्रीमतीको नाममा पठउँछ । साहुको ऋण तिर्ने, राम्रो ठाउँमा घर किन्ने, छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने, केही वर्ष विदेश बसेर बाँकी समय परिवारका साथ हाँसीखुसी रमाउने ।
यस्तै त हुन्छ नि परदेश उड्दै गर्दा उसको मस्तिष्कमा कल्पना गरिएको बाँकी जिन्दगी । तर सबैको जिन्दगी कल्पना गरे जस्तो हुँदैन । उसले वर्षौ रगत पसिना बगाएर कमाएको सम्पतीसँगै उसकी प्राणभन्दा प्यारी श्रीमती नै गायब हुन्छे, त्यो पनि स्वदेश फर्केपछि मात्रै उसलाई थाहा हुन्छ । अनि त्यो पुरुषले भोग्ने पिडा के अहिले बजारमा भन्ने गरिएको महिला हिंसा भन्दा कम छ ?
वास्तविकता के पनि हो भने, ‘विवाहको केही दिनमै श्रीमान् विदेश उडेपछि जवान ती महिलाको शारीरिक आवश्यकता कसले पुरा गर्ने ?’ अध्ययन अनुसन्धान अनुसार धेरै महिलाहरु शारीरिक आवश्यकता पूरा गर्नका लागि पर पुरुषसँग सम्बन्ध राख्न पुग्छन् । तर क्षणिक रुपमा राखिएको सम्बन्धले कालान्तरमा परिवारमै विचलन ल्याउँछ । यस्ता घटनामा पनि महिलाकै जित हुन्छ । महिला अधिकारकर्मीलाई प्रश्न, ‘अधिकारका चर्काचर्का नारा लगाउँदै गर्दा यस्ता विषयमा महिलालाई संवेदनशील बनाउने जिम्मेवारी कसको हो ?’
वैदेशिक रोजगारिकै कारण धेरैको भविष्य उज्ज्वल पनि भएको छ । जसको श्रीमतीसँगै घरपरिवारका सदस्यले विदेशमा बगाएको खुन र पसिनाको सदुपयोग गरेका छन् । नेपाली समाज बलात्कार जस्तो जघन्य अपराधको दल दलमा फसिराहेको छ । वर्षौदेखि महिलाहरू बलात्कृत भएर पनि समाजको तिरस्कारदेखि डर करमा बलात्कारको घटना लुकाउन बाध्य छन् ।
कैयौँ बलात्कारपछि हत्याका घटना बाहिरिइरहेका छन् । बलात्कार जस्तो जगन्य अपराधलाई कडा कानुनको प्राबधान ल्यायको छ राज्यले । पछिल्लो समयमा त्यसै कडा कानुनमा टेकेर केही त्यस्ता घटनाहरु घटेका छन् । मोजमस्ती गरिन्जेल स्वागत, स्वार्थ अनुरुप नभए बलात्कार । यस्ता घटनाले निर्दोष पुरुष पनि बलात्कार जस्तो जघन्य अपराधमा फसिरहेका छन् ।
ती निर्दोष पुरुषहरुको वकालत कसले गर्ने ? कहिलेकाहीँ पुरुष पनि बलात्कार हुन्छन् । पुरुष बलात्कारको घटना अपत्यारिलो हुन्छ । पुरुष बलात्कारको घटना न कसैले विश्वास गर्छ, न त पुरुषले नै कुनै कानुनको ढोका ढक्ढकाउन सक्छ । यस्तो अवस्थाको पीडित पुरुषहरुको सूक्ष्म नियाल्ने कुनै निकायको प्राबधान छैन । बलात्कृत पुरुष बलात्कारको हीनताबोध भएर बाँच्न बाध्य छन् ।
विधुर (एकल) पुरुष र वास्तविकता
कारणवश श्रीमतीको निधन भयो भने तुरुन्तै पुरुषले अर्को विवाह गर्छन् भन्ने मान्यता छ । तर सबैको हकमा त्यो लागु हुँदैन । संविधानले नै एकल महिलाको लागि विशेष व्यवस्था गरिदिएको छ । उनीहरुलाई सरकारले भत्तासमेत दिने गरेको छ । अधिकारकर्मीहरु पनि एकल महिलाको लागि जोडतोडका साथ आवाज उठाउँछन् ।
तर एकल पुरुषको अवस्था के छ ? उनीहरूले कस्तो समस्या भोग्न परेको छ ? छोराबुहारीले पालेका छन् छैनन् ? यता कसैको ध्यान पुगेको छैन । एकल महिलालाई जस्तै समस्या एकल पुरुषलाई पनि होला भन्ने यथार्थ अधिकारकर्मीहरुले सोच्न आवश्यक छ । उनीहरुको एक्लोपनको संवोधन पनि हुनुपर्छ । सबैको ध्यान पुगोस् जीवनको उत्तरार्धमा एक महिला जस्तै एकल पुरुषलाई पनि समस्या पर्छ ।
अतः महिला अधिकारका विषयमा राज्य संवेदनशील छ । पुरुषको अधिकार खोइ ? सबैको चाहन हो समाजमा पुरुष होस् वा महिला कोही पनि दुःखी हुन नपरोस् । राज्यको नीति नियम पनि त्यसै अनुसार बनोस् । तब नै महिला पुरुष समानताको नाराले पूर्णता पाउने छ । अनि बल्ल पूरा हुन्छ, ‘महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ, हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी, घरशान्ति नै विश्वशान्तिको आधार : महिला हिंसाविरुद्ध शून्य, सहिष्णुता कायम गरौँ’ भन्ने विश्वव्यापी नारा ।
निष्पक्ष सूक्ष्म नियालेर स्वतन्त्र रुपमा हरेक पाटोमा कलम चलाउन पाउदा आफैमा गौरवान्वित छु अर्थात् सन्तुष्ट छु । मलाई लेख्ने वातावरण मिलाइदिने मेरो परिवारमा छोरी कामना मैनाली र करिश्मा मैनाली, ज्वाइँ सुनील दुबेदी र डा.पारसमणि भट्टप्रति आभारी छु । उपन्यास पढेर सल्लाह सुझाब दिनुहुने पूर्वीय दर्शनको ज्ञाता तथा चार वेद लगायत अनेकौँ पुस्तकहरुको नेपालीमा रुपान्तरण गरेका विद्वान् आचार्य तिलकप्रसाद लुइटेल र हिमालय टाइम्सका सम्पादक एवं प्राध्यापक विनोद दाहालप्रति हार्दिक धन्यवाद ।
कृतज्ञ छु । लेखन क्षेत्रमा सरसल्लाह आशीर्वाद प्रदान गर्नुहुने शिक्षाविद् तथा वरिष्ठ साहित्यकार किरण आचार्य र प्रा.डा. जनार्दन आचार्यप्रति नतमस्तक छु । पुस्तक लेआउट मिलाई दिनुहुने यादु उपाध्यायमा हार्दिक धन्यवाद ! पुस्तकको कभर तयार गर्नुहुने कवी, पत्रकार राजेन्द्र तारकिणीमा हार्दिक धन्यवाद ! डिजिटल प्रकाशनमार्फत उपन्यासलाई संसारभर पुराउन सहयोग गर्नुहुने थुप्रै डट कमका संयोजक राजु गोतामे लगायत थुप्रै डट कम परिवारप्रति हार्दिक धन्यवाद । सम्पूर्णमा आभारी छु । ।। समाप्त ।। (यो पुस्तक मन्जरी प्रकाशनले बजारमा ल्याएको छ ।)
कल्पना खरेल । साहित्यकार