सूचनाको शक्ति - The Power Of Information

        

चुनौतीपूर्ण स्वास्थ्य प्रणाली

उच्च हिमाली जिल्लामै डेङ्गु देखिँदा थपिँदै चुनौती

डेङ्गु रोग लाग्नै नदिन अपनाउनुहोस् यस्ता महत्वपूर्ण तरिका

गर्मी मौसममा र तराईमा मात्र देखिने डेङ्गु बाह्रै महिना र उच्च हिमाली जिल्लामा देखिन थालेको छ । चिसो मौसममा शून्यमा झर्ने डेङ्गु सङ्क्रमण यस वर्ष जाडोमा पनि देखा पर्नुले स्वास्थ्य प्रणालीमा थप चुनौती थपिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा डेङ्गु १२ महिना नै देखिन सुरु गरेको र यो जलवायु परिवर्तनको असरका कारण हुन सक्ने बताए । उनले भने, ‘यस पटक मङ्सिरदेखि फागुनजस्तो जाडो महिनामा पनि डेङ्गु सङ्क्रमण बढेको छ । जनवरीयता ५०० भन्दा धेरै जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।’

उनका अनुसार गत वर्ष ७३ वटा जिल्लामा फैलिएको डेङ्गु जनवरीयता ४० वटा जिल्लामा फैलिइसकेको छ । सामान्यतः डेङ्गु असारदेखि कात्तिकसम्म तीव्र रूपमा बढ्ने हो, तर अहिले पुस, माघमा पनि सङ्क्रमण तीव्र भएकाले अब जुनसुकै समयमा पनि डेङ्गु फैलन सक्छ भन्ने प्रमाणित भएको छ ।

गत वर्ष असारदेखि मङ्सिरसम्म डेङ्गुले महामारीको रूप लिएको थियो । डेङ्गु व्यापक भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सङ्कटकाल लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिससमेत गरेको थियो । स्वास्थ्य सङ्कटकाल लगाउँदा अन्य विषयमा असर पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थिएन ।

महाशाखाका निर्देशक डा. दासका अनुसार जनवरीयता कोशी प्रदेशमा ४१ जना, बागमती प्रदेशमा १४३, गण्डकी प्रदेशमा ४०, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा पाँच जना, सुदूरपश्चिम प्रदेशमा २१० जनामा डेङ्गु फैलिइसकेको छ । गत वर्ष सबैभन्दा बढी काठमाडौँ जिल्लामा १४ हजार ३७६ जनामा डेङ्गु सङ्क्रमण फैलिएको थियो ।

यस्तै ललितपुरमा नौ हजार ६१४, भक्तपुरमा छ हजार १४१, मकवानपुरमा पाँच हजार ८३७, चितवनमा तीन हजार २१२, दाङमा दुई हजार ४२८ र धादिङमा एक हजार ६८२ जनमा डेङ्गु पुष्टि भएको थियो । यस्तै सबैभन्दा कम हुम्लामा तीन जना र डोल्पामा पाँच जनामा डेङ्गु पुष्टि भएको थियो । गत वर्ष कुल ५४ हजार ७८४ जनमा डेङ्गु पुष्टि भएको थियो । डेङ्गुका कारण सन् २०२२ मा ८८ जनाको मृत्यु भएको थियो ।

डा.दासले डेङ्गु नियन्त्रण केन्द्रबाट मात्र हुन नसक्ने भन्दै प्रदेश तथा स्थानीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहने बताए । उनले त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले प्रदेश मन्त्रालयका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालय, स्थानीय तह, डेङ्गु तीव्र रूपमा बढेका स्थानका वडाध्यक्षसमेतलाई नियन्त्रणका लागि समन्वय गरिरहेको जानकारी दिए । उनले केन्द्रबाट डेङ्गु नियन्त्रणका लागि पीसीआर तथा एन्टिबडी परीक्षणका लागि किट पठाइसकेको बताए ।

उनले जलवायु परिवर्तनले गर्दा उच्च हिमाली जिल्लामा समेत डेङ्गु सङ्क्रमण बढेको जानकारी दिए । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने जानकारी दिए । उनले यी जातका लामखुट्टेले दिनमा टोकेमा डेङ्गु सर्न सक्ने बताए । उनले डेङ्गु भइसकेपछि शरीरमा १० हजारभन्दा कम प्लेटलेट्स भएमा स्वास्थ्यमा समस्या देखिन थाल्ने बताए । डा.पुनका अनुसार डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने गर्छ ।

उनले ज्वरो सात दिनसम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने लक्षण भएमा डेङ्गु भएको हुन सक्ने बताए । वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जम्ने लगायतका लक्षण डेङ्गु सङ्क्रमण हुँदा देखापर्दछन् ।

डा.पुनले डेङ्गुबाट बच्न घरवरिपरि भएका खाल्डा पुर्ने; पूरा बाहुला भएका कपडा मात्र लगाउने; नियमित झुलभित्र सुत्ने, झ्याल ढोकामा जाली हाल्ने; घर, कार्यालय, विद्यालय वा सार्वजनिक भवनमा पानी जम्न नदिने; गमलामा पानी जम्ने गरी नराख्ने; बालबालिकालाई लामखुट्टेबाट जोगाउन घरबाट बाहिर खेल्नका लागि नपठाउने सुझाव दिए ।

उनले लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम लगाउन पनि सकिने बताए । नेपालमा पहिलो पटक सन् २००६ मा चितवनमा पहिलो पटक डेङ्गु पुष्टि भएको थियो । सन् २०१० मा तराईका चितवन, रुपन्देही, नवलपरासी लगायतका जिल्लामा डेङ्गुले महामारीका रूप लिएको थियो ।

डेङ्गु रोग लाग्नै नदिन अपनाउनुहोस् यस्ता महत्वपूर्ण तरिका

डेङ्गु लामखुट्टेको टुकाइबाट सर्ने एक किसिमको भाइरल रोग हो । यो रोग एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन । डेङ्गु भाइरसबाट संक्रमित पोथि लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । पोथि जातको लामखुट्टेलाई फुल पार्नको लागि प्रचुर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथि लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ ।

डेङ्गु भाइरस–१, डेङ्गु भाइरस–२, डेङ्गु भाइरस–३ र डेङ्गु भाइरस–४ गरी डेङ्गु चार प्रकारका हुन्छन् । एक प्रकारको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ अर्थात् एकपटकको संक्रमणपछि जीवनभरि इम्युनिटि (प्रतिरोधि क्षमता) हुन्छ ।

तर, अन्य तीन प्रकारका भाइरस प्रति आंशिक र अस्थायी प्रतिरक्षा मात्र हुन्छ, पछिल्लो संक्रमणहरुले गम्भिर डेङ्गु निम्त्याउने बढि सम्भावना हुन्छ । डेङ्गु रोग एडिज नामक लामखुट्टेको टोकाइको कारणबाट लाग्ने गर्दछ । यो लामखुट्टे कालो रंगको हुन्छ । जसमा सेतो थोप्ला पनि देखिन्छ ।

यो लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम उदाउनुभन्दा दुई घण्टाअघि विशेषगरी दिउँसो टोक्ने गर्दछ । जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्दछ । वर्षातको मौसम सुरु भएपछि यो रोगको प्रकोप बढ्न थाल्छ । अहिले डेङ्गु रोग नेपालका विभिन्न जिल्लाहरुमा देखिन थालेको छ ।

यसले स–साना सफा पानि जमेको स्थानमा फुल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बाहरु,रंगका खाली डब्बाहरु,थोत्रो टायर,अलकत्र वा तेलका खाली ड्रमहरु, गमला पानी ट्यांकी आदीमा यसले फुल पार्छ । शहरी क्षेत्रमा यस्ता वस्तुहरु प्रर्याप्त मात्रामा हुने भएकाले पनि शहरी क्षेत्रमा यो लामखुट्टे बढि देखिन्छ ।

डेङ्गु भाइरस कसरी सर्छ ?

  • डेङ्गु ज्वोरोबाट पीडित बिरामीलाई टोकेको स्वास्थ्य लामखुट्टेमा पनि डेङ्गु भाइरस संक्रमित हुन्छ र उक्त संक्रमित लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेङ्गु ज्वोरोबाट पीडित बिरामी रगत अर्को व्यक्तिमा चढाउँदा र अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना हुन्छ ।
  • एकपटक डेङ्गु भाइरस बोकेको लामखुट्टेले यसका प्रत्येक अन्डामा डेङ्गुको भाइरस सार्ने गर्छ । हरेक लामखुट्टेबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेङ्गुको भाइरस बोकेको हुन्छ र त्यसले अर्को स्वास्थ्य व्यक्तिलाई टोकेमा उक्त व्यक्ति यो रोगबाट संक्रिमित हुन्छ ।

डेङ्गु लाग्दा कस्ता लक्षणहरु देखा पर्छन् ?

  • डेङ्गु लागेको दुईदेखि सात दिनमा यस रोगको लक्षणहरु देखिने गर्दछन् । विश्व स्वास्थ्य संगठनले ‘डेङ्गु ज्वोरो’ र ‘जटिल डेङ्गु’मा विभाजित गरेको छ ।

‘डेङ्गु ज्वरो’

  • यस रोगको मूख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो २ देखि ७ दिनसम्म रहन सक्छ । डेङ्गु ज्वरो आउँदा शरिरको तापक्रम १०२ डिग्रीदेखि १० डिग्रीसम्मको हुन्छ ।
  • असाध्यै टाउको दुख्ने ।
  • आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
  • ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
  • वाकवाकी लाग्ने ।
  • वान्ता हुने ।
  • शरिरमा विमिराहरु देखा पर्ने ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:४१