सूचनाको शक्ति - The Power Of Information

        

चुरेमा डढेलो, पानी अभावले निभाउन मुस्किल

कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिए । ‘विभिन्न क्षेत्रमा गरी ११० हेक्टरमा डढेलो निभाइसकेका छौँ,’ उनले भने, ‘चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न चुनौतीपूर्ण छ जान सकिने अवस्था छैन ।’

चुरेमा दुई–तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको अवस्थीले बताए । ‘आमी डढेलो नियन्त्रण गर्ने प्रयासमै छौँ,’ उनले भने, ‘चुरे क्षेत्रको करिब ५० हेक्टरमा डढेलो लागेको छ ।’ डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा अहिले डढेलो छ ।

यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिकाको उत्तरी क्षेत्र, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आइसकेको छ । डढेलोका कारण हालसम्म एक सय १० हेक्टर वनक्षेत्रमा असर परेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार १५:५४