सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस र माओवादीबीच आलोपालोको सहमति

गण्डकीमा आज नयाँ सरकार, को बन्ला नयाँ मुख्यमन्त्री ?

पहिलो कार्यकाल आफुले पाउनुपर्ने अडानमा रहेका माओवादी र काँग्रेसका नेताहरु भने केन्द्रबाट आउने निर्देशनको पखाईमा छन् ।

गण्डकी प्रदेशले आज (आइतबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारी शनिबार संसदबाट विश्वासको मत पाउन नसकि पदमुक्त भएपछि प्रदेशले संविधानको धारा १६८ को उपधारा ३ अनुसार आज नयाँ मुख्यमन्त्री पाउने भएको हो ।

अधिकारी २०७९ पुस २५ गते माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरबदल भएसँगै माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन चैत १० गते फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सो व्यवस्थाबमोजिम अधिकारीले शनिबार विश्वासको मत लिन प्रस्ताव गरेका थिए । प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनको मुख्यमन्त्री कार्यकाल १०५ दिनमा सीमित हुन पुग्यो । प्रदेशमा २७ सांसद सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । मुख्यमन्त्रीमा माओवादी र कांग्रेस दुबैले दावी गरेको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले गठबन्धन दलबीचको सहमतिमै मुख्यमन्त्री नियुक्त हुने बताए । कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भइसकेको र सरकारको पहिलो नेतृत्व आफुले गर्न पाउनुपर्ने उनको अडान छ भने कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेको पनि पहिलो कार्यकाल आफुले पाउनुपर्ने अडान छ ।

यद्यपी उनीहरु केन्द्रबाट आउने निर्देशनको पखाईमा छन् । केन्द्रमा भएको गठबन्धन अनुसार यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग सरकार गठनका लागि बहुमत छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादीका सभामुखसहित आठ र एकीकृत समाजवादीका एक सांसद छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार १२:२२