आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
चितवन–२ वाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठबीच त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।
यसैगरी, तनहु–१ बाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोविन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
यस्तै बारा–२ वाट विजयी रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ ।
आयोगले भनेको छ ‘निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिई सकिएको छ ।’
सत्यपाटी संवाददाता । काठमाडौं