सूचनाको शक्ति - The Power Of Information

        

मातृ तथा बाल स्वास्थ्य सुरक्षाका लागि सल्यानमा मोबाइल स्वास्थ्य सेवा

फाइल तस्वीर

मातृ तथा बाल स्वास्थ्य समन्वयका लागि सल्यान जिल्लामा मोबाइल स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुनेको संख्या शून्य पुर्याउने उद्देश्यले जिल्लामा सञ्चालन गरिएको मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले चार पटक गर्भ जाँच (पूर्ण जाँच) गरे–नगरेको र स्वास्थ्य संस्थामै प्रसूति भएको सुनिश्चितता भए–नभएको निगरानी गरिने जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

नियमित जाँच र उपचार नपाउँदा गर्भवती महिलाहरूको गर्भ खेर जाने समस्या तथा आमा र बच्चामा देखिन सक्ने जोखिमहरू मोबाइल स्वास्थ्य कार्यक्रम सञ्चालन भएपछि कम हुने अपेक्षा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए ।

‘समय–समयमा जाँच मात्रै भयो भने पनि आमा र बच्चाको स्वास्थ्य अवस्था पत्ता लाग्छ र जोखिम कम गर्न सकिन्छ,’ उनले भने, ‘मोबाइल स्वास्थ्य कार्यक्रमका लागि जिल्लाका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । उनीहरूले गर्भवती र नवजात शिशुको उपचार, हेरचाहका लागि सन्देश आदान–प्रदान गर्छन् ।’

सबै गर्भवतीको घरसम्म महिला स्वास्थ्य स्वयंसेविका पुग्न नसकेको अवस्थामा गर्भवती दर्ता गरेपछि सिस्टमबाटै जाँच तथा हेरचाहका कुरा मोबाइलले नै सम्झाइदिने र खबर गर्न पनि सजिलो हुने बताए । गर्भवती महिलाको नाम दर्ता गरी त्यसको विवरण जनस्वास्थ्यमा राखिने र सोही दर्ता विवरणका आधारमा गर्भवतीले गर्नुपर्ने जाँच र सुत्केरी हुने मितिको विवरण स्वयंसेविकाको मोबाइलमा सन्देश पुग्ने कार्यालयको भनाइ छ ।

गर्भवतीले गर्भ जाँच गर्नुपर्ने निश्चित समयभन्दा एक साताअघि नै महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा गर्भ जाँच गराउने वेला भएको सन्देश जान्छ र महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिलालाई भेटेर सन्देश सुनाउने कार्यक्रम अधिकृत पवन वर्णवालले बताए । सुत्केरी भइसकेपछि फेरि सिस्टममा स्वयंसेविकाले घर वा स्वास्थ्य संस्थामा प्रसूति भएको कुरा दर्ता गराउँछन् र बच्चा जन्मेपछि सुत्केरी जाँच गराउनुपर्ने सन्देश पनि मोबाइलमा जाने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १८:२८