शनिवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाएका छन् । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुन्छ । मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाउने गर्छन् ।
एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिन्छ । यस पर्वका अवसरमा देशभरका मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गरिरहेका छन् ।
इदउल फित्र पर्वका अवसरमा देशभरका मस्जिदमा नमाज पढ्न मुस्लिम समुदायका मानिसहरू भेला भएका थिए । सामूहिक रूपमा नमाज पढिसकेपछि उनीहरूले एक अर्कालाई ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं