सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

प्रश्नयुद्ध

अनेक प्रश्नहरु छन् मानिससँग
युगौंदेखि जमठ भएर बसेका
आदिम प्रश्न

जीवनका रिपुहरुसँग
युद्धरत प्रश्न
ओठ ओठमा झुन्डिएका
हिजोका निरुपाय सवाल
आज तिखोसँग उभिएका छन्

मानिस अप्रश्नेय भयो भने
कुंजो र जोखिमपूर्ण हविगतमा पर्छ
जीवनको लय

पुरातन प्रश्नहरुको अगाडि
थुपारिएको छ
एक डुङ्गुर फोहोर जवाफको रास
गर्भैदेखि लिएर आएको
जाली लिखतनामाका वकवास
अथवा उस जुनीको फल
करार गरिएको
भ्रामक गरुड पुराण

तिमिसँग पुरातन फतुरको
जाली तमसुक होला
हामीसंग जीवनको मानक गुरुत्व छ
अनि म एकात्मा/अनेकात्मा
मसँग सिङ्गो संसार छ
मेरा प्रश्नमा सामेल मोर्चाहरुमा
ऐकवद्धताका हजारौं लस्करहरु छन्

तिम्रा प्रश्नहरु स्वयममा
विघटित समयका धुर्त मनोसम्वाद हुन्
मेरा प्रश्नहरुको सम्पूर्ण हिस्सामा
समस्त सिर्जनाको घरषण
र तिम्रो खुनी वाचाल तर्कहरुको
प्रतिरोधका पङ्तिवध्द लामहरु छन्

तिम्रो प्रश्नमा कुँदिएका
तिलस्मी अक्षरहरुका लागि
जोखिमपूर्ण छन्
मेरा प्रश्नहरुको यक्षस्तम्भ
मेरो विचारको आविस्कारसँगै
मसंग ज्वलन्त प्रश्नहरु खडा छन्
र तिमिले बन्द गरेको हरेकद्वारमा
जीवनका अर्थपूर्ण आक्रोशको पङ्ति छ
र सत्ता विघटनको संकटमा
जलिरहेछन तिम्रा वाचिक घोषणाहरु

मेरा प्रश्नहरुको समुल सौन्दर्यमा
जगतको सत्य मुस्कान छ
तिम्रा प्रश्नहरुको धुर्त तर्कशास्त्रमा
फरेवको पुलिन्दा मक्किएको छ
कदापि मेल खाँदैन
मेरो भाष्यको दस्तावेज

अनेक प्रश्नहरु छन्
मानिसहरुका विचमा युद्धरत
युगौंदेखि जमठ भएर बसेको
आदिम प्रश्न
आदिम उत्तर

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ११:२८