सूचनाको शक्ति - The Power Of Information

        

पाइलटले महिला साथीलाई ककपिटमै लगेपछि…

एयर इन्डियाका एक पाइलटविरुद्ध आफ्नी महिला साथीलाई विमानको ककपिटमा लगेको आरोप लागेको छ । यस सम्बन्धमा भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले छानबिन गरिरहेको बीबीसी हिन्दीले जनाएको छ ।

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै घटना गत फेब्रुअरी २७ को भएको उल्लेख गरेको छ । रिपोर्ट अनुसार दुबईबाट दिल्ली उडानका क्रममा एयर इन्डियाको फ्लाइट कमान्डरले आफ्नी महिला साथीलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए ।

यो मुद्दा तब चर्चामा आयो, जब पाइलट, सहपाइलट, केबिन क्रु सदस्य र महिला शुक्रबार बयानका लागि डीजीसीएमा उपस्थित भए । यसअघि ३ मार्चमा केबिन चालक दलका सदस्यले एयर इन्डियाका सीइओ र उडान सुरक्षालाई पहिलो पटक लिखित उजुरी गरेका थिए ।

त्यसपछि यो मुद्दा डीजीसीएमा पठाइयो । घटना विवरण अनुसार केबिन क्रुको एक सदस्यले फ्लाइट कमान्डरलाई त्यसो नगर्न आग्रह गर्दा उनले ती सदस्यलाई उल्टै गाली गरेको आरोप छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ११:०५