सूचनाको शक्ति - The Power Of Information

        

अब क्यान्सर अस्पतालमै ‘ब्लड बैंक’ स्थापना

बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापना गरिने भएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा विरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएको छ ।

रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि खजुरा गाउँपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबीच छलफल भएपछि छिटो सेवा सञ्चालन गर्ने सहमति भएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरवहादुर विकले क्यान्सर अस्पतालमा विरामीहरु सेवा लिन टाढाबाट आउने भएकाले रक्त सञ्चार सेवा आवश्यक भएको बताए ।

‘रक्त सञ्चार सेवालाई नियमित बनाउन खजुराका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई त्रैमासिकरुपमा रक्तदान गर्न अभिप्रेरित गर्ने योजना बनाएका छौं,’ गाउँपालिकाका अध्यक्ष विकले भने, ‘निकट भविष्यमा १५ शैय्याको अस्पताल निर्माण हुन लागेकाले पनि खजुरामा रक्त सञ्चार सेवा आवश्यक छ ।’

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खर्जुन सुवेदीले विरामीका आफन्तबाट रगत आवश्यक भएपछि नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता अन्त्यका लागि खजुरामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने निष्कर्षमा गाउँपालिका पुगेको बताए । रेडक्रस सोसाइटीले हाल भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरी सेवा दिंदै आएको छ ।

नेपाल रेडक्रस सोसाइटीले स्थलगत अनूगमनका क्रममा अस्पतालमा तत्कालै रक्त सञ्चार सेवा केन्द्र सञ्चालन आवश्यक देखिएकाले गाउँपालिका, क्यान्सर अस्पताल र रेडक्रस गरी तीन वटै संस्थाको लागत सहभागिता रहने गरी सञ्चालन गर्न लागिएको जनाएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक निरज भट्टराईले अस्पतालमा तत्कालै रगत आवश्यक पर्ने विरामी आउने गरेको भन्दै रक्त सञ्चार सेवा केन्द्र आवश्यक परेको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ०९:३८