नेपालको कम्युनिष्ट आन्दोलनलाई हिंसा, आतंक र उग्रवादबाट मुक्त गर्दै, कम्युनिष्टको शाब्दिक जडताबाट अगाडि बढ्दै यसलाई प्रतिस्पर्धात्मक लोकतन्त्रको पर्याय बनाउन सफलता हासिल गर्नुको परिणाम स्वरूप बनेको नेकपा (एमाले) यतिबेला केपी शर्मा ओलीको दम्भ, अहंकार र घमण्डको अग्निमा जलेर बामाले बनेको छ । आज नाममा एमाले अनि कामले बामाले बनेको त्यस पार्टीको गतिविधिहरूले बामालेको वर्तमानलाई जति गौरवान्वित बनाएको हुनुपर्छ त्यसले एमालेको गौरवशाली इतिहासलाई चाहिँ त्यत्तिकै मजाक बनाएको छ ।
आजको एमाले भनिने बामाले पार्टीको एकमात्रै ध्येय भनेको जे जसरी हुन्छ सत्तामात्रै रहेको छ । त्यसैले हिजो आफैँले अनेक गाली गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्षणभरमै प्रधानमन्त्री बनाउने बामाले आज तिनै प्रचण्डलाई फेरि गाली गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन हारगुहार गर्दैछ । तर, बामालेको त्यस खेलोमा न एमालेको इतिहासको रक्षा गर्ने स्वार्थ छ न त देश र जनताको हित रक्षाको सवाल नै । त्यसमा छ त केवल बामालेका बा अर्थात् ओलीको अहंकार दम्भ, घमण्ड र कुण्ठाको बेरोकतोक प्रकटीकरण मात्र छ । सत्य यही नै हो ।
तर, ओलीमा रहेको त्यही अहंकारले गर्दा समाप्त भएको एमालेको परिचय, एकताबद्ध हुँदै रहेको वामपन्थी आन्दोलन छिन्नभिन्न भएको अवस्था अनि वामपन्थी नेतृत्वमा रहेको बलियो सत्तासमेत गुमेको यथार्थसमेत बुझेको हुनाले बामाले र दास कोटरीप्रति त कुनै टिप्पणी नै गर्नु छैन । यद्यपि, नेकपा एमालेको निर्माण र विकासमा भूमिका खेलेका अनि हाल बामाले भइसकेका केवल एमाले नामको पार्टी छोड्न नसकेका एमालेहरूलाई भने जरुर केही भन्नु छ । उनीहरूलाई विगत सम्झाउन छ, वर्तमान बुझाउन छ । अनि भविष्य सुझाउनुचाहिँ जरुर छ ।
सबैभन्दा पहिला नेकपा एमालेजस्तो विशाल पार्टीको निर्माणमा आफ्नो जीवनको ऊर्जावान समय खर्चने तमाम असली एमालेजनलाई उनीहरूको योगदानको लागि हार्दिक धन्यवाद छ । विश्वव्यापीरुपमा बहिस्कृत तिरस्कृत हुँदै रहेको जडतासहितको तत्कालीन कम्युनिष्ट आन्दोलनलाई बहुदलीय लोकतन्त्रसहितको जनपक्षधरतामा आधारित पार्टी बनाउन खेलेको भूमिकालाई सलाम गर्नु नै पर्छ । त्यही त्याग, समर्पण र बलिदानले निर्माण भएर बनेको एमालेलाई निरंकुशताको कालो बादल अनि उग्रवामपन्थी भडकावबाट जोगाएर जस्ताका तस्तै राख्न यहाँहरूले निर्वाह गर्नुभएको भूमिकालाई पनि साधुवाद भन्नै पर्छ ।
लोभ लालचलाई तिलाञ्जली दिएर इमान्दारिताका साथ जनताको सेवा गर्ने यहाँहरूको प्रतिवद्धतालाई व्यवहारमा नउतारेको भए आजको अनेकन हण्डर, ठक्कर खाँदा पनि कायम एमालेको जग सम्भव हुने थिएन । तर, दुःखका साथ लेख्नु परिरहको छ कि असली एमालेहरूलाई दुःख मिहेनत अनि त्याग, तपस्याले बनेको पार्टी आज बामालेकरण भएको छ । अनि एमालेको निर्माणदेखि विकाससम्म भूमिका खेल्ने ठूलो पंक्ति आज आफ्नो वर्तमानलाई लज्जित र भविष्यलाई अँध्यारो बनाइरहेको छ ।
हो, आफूले राजनीति प्रवेश गर्नुको मूल लक्ष्यमाथि आफ्नै पार्टी नेतृत्वबाट निरन्तर प्रहार भएपछि मूल्य र मान्यताको खातिर आफूले बनाएको पार्टी छोड्न सक्ने माधवकुमार नेपालकै जस्तो विद्रोही हिम्मत र आँट यहाँहरू सबैमा हुनुपर्छ भन्ने छैन । तर, के ओलीका सबै नकारात्मकतालाई चुपचाप सहनै पर्छ त ? अहिले असली एमालेहरूले आफैँसँग सोध्नुपर्ने सवाल हो यो । एमालेको निर्माण सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीको सांगठनिक सिद्धान्तमा आधारित रहेर गरिएको थियो । तर, जब ओलीको हातमा एमालेको नेतृत्व पुग्यो उनले त्यस पार्टीमा नेतृत्वको अधिनायकत्व रहने अभ्यास सुरु गरे ।
तर, ओलीको त्यो नकारात्मकतालाई सुरुदेखि नै दिनुपर्ने जस्तो चुनौती दिइएन । त्यसको परिणाम के भयो ? क्रमशः एमालेको मौलिकता गुम हुँदै गयो । अनि संगठन, विचार र कार्यशैलीमा समानता निर्माण गर्नु अगावै आफ्नो निजी स्वार्थमा आधा आधा सत्ताको गोप्य सहमति गर्दै एमाले र माओवादीको अस्थायी एकताको नौटंकी गरियो । जब आफैंले गरेको सहमति अनुसार सत्ता हस्तान्तरण गर्नुपर्ने समय आयो ओलीले सहमति गर्नुभन्दा षडयन्त्र गर्न थाले । बरु आफुले पाउनुपर्ने सत्ता नेतृत्व त्यागेर पनि एकता बचाउन प्रचण्ड तयार भए ।
तर, ओली तयार भएनन् । सत्ता हस्तान्तरण गर्नुभन्दा संविधान विपरित संसद विगठन गर्न ओली तयार भए । तर, विडम्वना न्यायलयले असंवैधानिक ठहर गरेको ओलीको त्यो संसद विगठनको विरोध गरेर ओलीलाइ गल्ती महसुस गराउनु भन्दा नांगै महाराजलाइ नांगो भन्न नसकेर ‘महाराज क्या गज्जब पहिरन’ भन्ने दासहरूकै शैलीमा असली एमालेहरू पनि ओली बचाउमा लागे । परिणाम के भयो ? ओली थप अहंकारी र घमण्डी बने । जसले गर्दा एकता भएर बनेको नेकपा विभाजनले नपुगेर फेरि आफ्नो ठाउँमा आइपुगेको एमालेसमेत विभाजन गर्न तम्सिए ।
त्यसैले त आफुले बनाएको हुर्काएको र टिकाएको एमालेलाई सशक्त बनाउन तयार माधव नेपाल लगायतका श्रद्धय नेताहरूलाई अपमानित वदनामित गर्दै पार्टीमा रहनै नसक्ने गरेर लखेट्न ओलीले भूमिका खेले । आफूलाई जन्मदिने आमालाई घर निकाला गर्ने जस्तै अपराधिक त्यस्तो काम हुँदै गर्दा पनि असली एमालेहरू समेत ओलीकै भजनमा लागेको दुःखद अवस्था देख्नुपर्यो । त्यति मात्रै कहाँ ? पछिल्लो चुनावपछि अवसरवादी र राजवादीदेखि कुराले चिउरा भिजाउन तयार निरासाका व्यापारीहरू सहितको गठबन्धन गरेर बार्दली सरकार बनाउँदा माधव नेपालदेखि चित्रबहादुर केसी समेतलाई गठबन्धन बाहिर राख्न ओली लागे ।
त्यसको पनि असली एमालेहरूले प्रतिवाद गरेनन् । देशको सौभाग्य अनि ओलीको दुर्भाग्य त्यो गठबन्धन ढल्यो । तर, त्यसले पनि सत्ता केन्द्रित ओलीदौड रोकिएको छैन । कहिले ओली गाली गलौजकै बीचमा आफैंले गाली गरिरहेको प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुग्छन् । जब प्रचण्ड ओलीको अधिनायकी अस्वीकार गर्दै नयाँ गठबन्धन गर्न पुगेपछि फेरि गाली गर्न थाल्छन् । त्यतिमात्रै होइन, कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनिदिन विन्तीपत्र हाल्न पुग्छन् । ती दुवै खालको सरकार बनाउन तयार हुने ओलीको लाजनीति एमालेको गर्विलो विगतमा कालो धब्बावाहेक केही होइन ।
तर पनि बामालेभित्र पिल्सिरहेका एमालेहरू केही बोल्न सक्दैनन् । जसले गर्दा आज असत्य नै सत्य हो कि झैं हुने अवस्था बन्दै गएको छ । लोकतन्त्र अनि त्यसअनुसारको संविधानको खिलाफमा भएका ओलीको गतिविधिलाई बेलगाम अगाडि बढ्न दिँदा एमाले आज बामाले बन्दै समाप्तिको दिशामा छ । त्यससँगै देशको राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र विधिको शासन समाप्ति हुने खतरा पनि बढदै गएको छ । ए असली एमालेहरू हो, अब त जाग । अब त भन ओलीलाई । ‘कमरेड तपाईंको दम्भ, अहंकार र कुण्ठाको आगोमा यो देशको उन्नति प्रगतिको सपना दनदन बलेको हेर्न सक्दैनौं ।’ यसो गर्न जरुरी छ र त्यो जतिसक्दो छिटो गर्दा मात्रै हितकर हुनेछ । नत्र, भविष्य सोचेभन्दा निक्कै अन्धकार छ ।
राधाकृष्ण देउजा । काठमाडौं