सूचनाको शक्ति - The Power Of Information

        

रमजान महिना

आज इस्लाम धर्मावलम्वीहरुले इदुलफित्र पर्व मनाउँदै, बधाई सटासाट

रमजान महिनामै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

फाइल तस्वीर

इस्लाम धर्मावलम्वीको महान पर्व इदुलफित्र आज हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई रोजा भनिन्छ ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरु दिनमा निराहार बस्छन् । बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ०६:५४