हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनः सञ्चालनमा आएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । आज दिउँसाेदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो ।
हुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र कतारको दोहाबाट आएको कतार एअरवेजको जहाज ‘होल्ड’ मा परेका थिए ।
अहिले नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय ठाउँमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डाै उपत्यकामा दिउँसाेपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ