सूचनाको शक्ति - The Power Of Information

        

बालबालिकालाई क्यान्सर भएमा ३५ प्रकारका औषधि निःशुल्क

नेपालमा केही महिनामा नै क्यान्सर लागेका बालबालिकालाई निःशुल्क औषधी उपलब्ध हुने भएको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपालका बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने तयारी भएको हो ।

ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी) ले विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा नेपालमा बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने तयारी भएको हो ।

बालरोग विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख डा.कृष्ण पौडेलका अनुसार बालबालिकामा हुने विभिन्न क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधी निःशुल्क प्रदान गरिने तयारी भएको हो ।

नेपाल, मङ्गोलिया, उज्बेकिस्तान, इक्वेडर, जाम्बियासहित विश्वका ६ मुलुक पहिलो चरणमा सहभागी हुने समेत बताइएको छ । डा पौडेलका अनुसार विश्व स्वास्थ्य सङ्गठनले दक्षिण पूर्वी एसियाबाट नेपाललाई पहिलो चरणमा सहभागी गराउने भएको हो ।

३५ प्रकारका औषधीमध्ये कतिपय औषधी नेपालमा हालसम्म प्रयोगमा नल्याइएको हुँदा औषधी व्यवस्था विभागबाट अनुमति लिनुपर्ने तथा औषधीका लागि छुट्टै भण्डार कक्ष निर्माण गर्नुपर्ने भएकाले केही महिनाभित्र सबै तयारी पूरा गरेर निःशुल्क औषधी वितरण सुरु गरिने डा पौडेलले बताए ।

‘कतिपय औषधी हाम्रोमा अझै प्रयोग भएको छैन जसले गर्दा औषधी व्यवस्था विभागबाट अनुमति लिनुपर्ने हुन्छ भने औषधी राख्ने भण्डार कक्षको समेत तयारी गर्नुपर्छ, नयाँ औषधी भएकाले चिकित्सक, नर्सलाई समेत तालिम दिनुपर्ने पर्छ यो सबै सकिएपछि हामीले छिट्टै यो कार्यक्रम सन्चालन गर्छौँ,’ डा पौडेलले भने ।

नेपालमा वर्षेनि १ हजार ५०० भन्दा बढी बालबालिका विभिन्न खालका क्यान्सरबाट ग्रस्त हुने गरेका छन् । तीमध्ये धेरैजसोमा रक्त क्यान्सर (ल्युकेमिया) हुने गरेको पाइन्छ । सबै क्यान्सरमध्ये ४० देखि ४५ प्रतिशत ल्युकेमिया नै हुने गरेको पाइएको उनको भनाइ छ ।

बालबालिका हुने रक्त क्यान्सर समयमा नै पहिचान गरेर उपचार गरेमा पूर्णरुपमा सन्चो हुने भए पनि आर्थिक अभावका कारण धेरैले पूर्ण उपचार गरेको पाइँदैन । तर क्यान्सरका औषधी निःशुल्क वितरण गर्न थालेपछि धेरै बालबालिकाले पूर्ण उपचार पाउने डा पौडेलले बताए ।

‘बालबालिकामा प्रायः हुने रक्त क्यान्सर समयमा नै पहिचान गरेर पूर्ण उपचार गरेमा ८० प्रतिशत पूर्ण सन्चो हुन्छ, जुन विभिन्न अनुसन्धानहरूले समेत पुष्टि गरेका छन् तर हाम्रोमा आर्थिक अभावका कारण क्यान्सरका बिरामी बालबालिकाले औषधी उपचार पाउँदैनन् । अब निःशुल्क औषधी वितरण सुरु गरेपछि आर्थिक अभावका कारण उपचार पाउनबाट कुनै पनि बिरामी बालबालिका वन्चित हुनु पर्दैन,’ डा पौडेलले भने ।

नेपालमा उपचार गराइरहेका क्यान्सरका बिरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने लक्ष्यसहित ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने लक्ष्य रहेको समेत डा पौडेलले बताए ।

युनिसेफमार्फत आउने उक्त औषधी सुरुमा कान्ति बाल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गराइरहेका क्यान्सरका बिरामी बालबालिकाहरुमा प्रयोग गरिने समेत डा पौडेलको भनाइ छ ।

यस कार्यक्रमका लागि आगामी जुन महिनामा बालबालिकाको क्यान्सर सम्बन्धी बृहत कार्याशाला गोष्ठीको आयोजना गर्ने समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १७:०१