सूचनाको शक्ति - The Power Of Information

        

ओडिआईमा सन्दीपको इतिहासकै दुर्लभ कीर्तिमान, १०० विकेट पूरा

नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआईमा इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

१३ औं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरेका थिए । यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । रशिदले ४४ इनिङ्समा यो सफलता पाएका थिए ।

उक्त कीर्तिमान तोड्दै सन्दीप अब ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १०० विकेट लिने पहिलो खेलाडी बनेका हुन् । ओडिआईको दुर्लभ कीर्तिमानी आफ्नो नाममा बनेपछि सन्दीपले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान ढोगेका थिए ।

सन्दीपले सेलिब्रेसनमा अन्य खेलाडीले साथ दिए । उनीहरुले सन्दीपलाई उचालेपछि सन्दीपले हात हल्लाएर सेलिब्रेसन गरे । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ । जितको लागि ३११ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १५:२१