सूचनाको शक्ति - The Power Of Information

        

गृहसचिव विनोद प्रकाशले ६ महिनामा लिए ४७ लाख सुराकी खर्च

विवादित छविका गृहसचिव विनोद प्रकाश सिंहले ६ महिनाको छोटो अवधिमा ‘सुराकी खर्च’को नाममा ठूलो रकम बुझेको खुलासा भएको छ । गृहसचिव भएको ६ महिनाको अवधिमा सिंहले ४७ लाख ३७ हजार रुपैयाँ सुराकी खर्च बुझेका हुन् ।

गृहसचिवले यति छोटो समयमा यति ठूलो रकम बुझेको यो नै पहिलो घटना रहेको गृह स्रोतले जानकारी दिएको छ । २०७९ भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई गृहसचिव नियुक्त गरेको थियो ।

२०७९ असोज २ गते मन्त्रालयमा हाजिर भएका सिंहले २०७९ चैत १९ गतेसम्म सुराकी खर्च लिएका हुन् । चैत २० गतेबाट भने सुराकी खर्च सम्बन्धी व्यवस्था नै खारेज भएको छ । सुराकी खर्च लिने व्यवस्था खारेज नभएसम्म एक पटकमा २५ हजारसम्म सुराकी खर्च लिन पाउने व्यवस्था थियो ।

गृहसचिव सिंहले कहिलेकाहीँ दिनमा २ देखि ३ पटकसम्म पनि सुराकी खर्च लिने गरेको स्रोतले बताएको छ । गृहसविचको जिम्मेवारीमा रहँदा सुराकी खर्चको नाममा सके जति पैसा कुम्ल्याउने सिंहको योजनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ब्रेक लगाए ।

०७९ चैत १७ गते शुक्रवार पदभार ग्रहण गर्ने क्रममा मन्त्री श्रेष्ठले सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार गत चैत २० गते सरकारले सुराकी खर्च सम्बन्धी व्यवस्था खारेज गरेको थियो ।

गृह स्रोतले सुराकी खर्च बापत सचिव सिंहले ठूलो रकम बुझेको बताए पनि उनले भने अस्वीकार गरेका छन् । सचिव सिंहले भने, ‘सुराकी खर्च लिएकै हो । तर, यति ठूलो रकम भने लिएको होइन ।’

ठूलो रकम लिएको अस्वीकार गरेका सिंहलाई ‘उसो भए कति रकम लिनु भयो ?’ भनेर गरिएको प्रश्नको जवाफ ‘रकम चाहिँ भन्न मिल्दैन’ भन्दै पन्छिए । यस आधारमा पनि उनले ठूलो रकम लिएको अनुमान गर्न सकिन्छ ।

खारेजीको विपक्षमा थिए सिंह

त्यसो त गृहसचिव सिंह सुराकी खर्च खारेजीको विपक्षमा थिए । गृहमन्त्री श्रेष्ठले पदभार ग्रहण गरेकै दिन सुराकी खर्च खारेज गर्ने निर्णय गर्ने भएपछि गृहसचिव सिंह असन्तुष्ट भएका थिए ।

नयाँ मन्त्रीको रूपमा गृह मन्त्रालय आएका श्रेष्ठलाई सचिव सिंहले सुरुमा ‘अहिले नै यो निर्णय नगरौँ मन्त्रीज्यू’ भन्दै निर्णय नगराउने नीति लिएका थिए । तर, मन्त्री श्रेष्ठले जसरी पनि सुराकी खर्च खारेज गर्ने भएपछि बाध्य भएर सिंहले मन्त्रीको योजनामा सहमति जनाएको स्रोतले बताएको छ ।

आफ्नो चाहना विपरीत सुराकी खर्च खारेज गरेको भन्दै सचिव सिंह मन्त्री श्रेष्ठसँग असन्तुष्ट रहेको बुझिएको छ । सोही विषयलाई लिएर मन्त्री श्रेष्ठलाई सचिव सिंहले असहयोग गर्दै आएको समेत चर्चा चल्ने गरेको छ । यस बिचमा गृहमसचिव फेर्ने विषय पनि चर्चामा आएको छ ।

मन्त्रिले लिएनन् सचिवले लिए

२०७९ पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भयो । प्रचण्ड सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने गृहमन्त्री भएका थिए ।

उपप्रधान तथा गृहमन्त्रीको रूपमा पहिलो पटक सरकारमा सहभागी लामिछानेले मन्त्रीले सुराकी खर्च लिने परम्परा तोड्दै नलिने घोषणा गरे । तर, सोही अवधिमा गृहसचिव रहेका सिंहले भने सुराकी खर्चबापत टन्नै रकम बुझेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:४३