चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधनको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार ४५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ ।
गत आवको सोही अवधिमा एक हजार ४७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै २५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा ११६ वटा मात्र विद्युतीय सवारी साधन आयात भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट १०० किलोवाट क्षमताका एक हजार ७५५ वटा विद्युतीय सवारी आयात भएका छन् । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् ।
चीनबाट १०० किलोवाट क्षमताका ३८१, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका २४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधन आयात भएका छन् । भने दक्षिण कोरियाबाट एक सयदेखि २०० किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । समीक्षा अवधिमा भारतबाट मात्रै चार अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरू आयात भएका छन् ।
यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ । चालू आर्थिक वर्षको नौ महिनामा करिब रु सात अर्ब बराबरका विद्युतीय सवारी सधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ ।
विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा चार अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले एक अर्ब १६ करोड ५५ लाख २० हजार राजश्व संकलन गरेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं