दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ । अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।
उनी माथि ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
ती महिला माथि बिहान १०ः३० बजे ४–५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् ।
सो गोली हानेपछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए । वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन् ।
कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भिडभाड भएको समयमै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ ।
आरोपित महिलाविरुद्ध ठगी मुद्दा दायर भएको थियो । आज उनको सुनवाई थियो । अदालतभित्र दिनदहाडै गोली हानिएको घटनालाई लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथि प्रश्न उठाइएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकारमाथि प्रश्न उठाएका छन् ।
सत्यपाटी संवाददाता । नयाँदिल्ली