मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ। राजस्व नउठेपछि सरकारले चालु खर्च चलाउन पनि ऋण लिनुपरेको छ ।
सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो । नौ महिनामा ४९.२९ प्रतिशत मात्र राजस्व संकलन भएको छ। लक्ष्यअनुसार मासिक सरदर करिब १ खर्ब १६ अर्ब रूपैयाँ राजस्व संकलन गर्नुपर्छ ।
यसरी हेर्दा नौ महिनाको अवधिमा १० खर्ब ४४ अर्ब रूपैयाँ राजस्व संकलन हुनुपर्थ्याे । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म ६ खर्ब ९१ अर्ब ६६ करोड रूपैयाँ मात्र राजस्व संकलन भएको छ ।
यसरी हेर्दा ३ खर्ब ५३ अर्ब कम राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिभन्दा १ खर्ब ७ अर्ब कम राजस्व जम्मा भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ