सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ‘भिटामिन ए’ अभियान

भिटामिन ‘ए’ क्याप्सुलको गुणस्तरमा शङ्का लागेपछि अभियान स्थगित

भिटामिन ‘ए’ क्याप्सुलको केही बट्टामा क्याप्सुलको रङ फरक भइसकेको पाइएको छ ।

लुम्बिनी प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको गुणस्तरमा शङ्का लागेपछि बुधबारदेखि सुरु हुने राष्ट्रिय भिटामिन ‘ए’ अभियान बाँके जिल्लामा स्थगित गरिएको छ । प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको म्याद अप्रिल २०२३ सम्म मात्र रहेको र केही बट्टामा क्याप्सुलको रङ फरक भइसकेको पाइएको जानकारी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा गराइएको थियो ।

मन्त्रालयले पत्र पठाएर सो अभियान स्थगित गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बालबालिकालाई खुवाउने सो क्याप्सुलको म्याद सकिन करिब १० दिन मात्र बाँकी रहँदा खुवाउन पठाइएकाले केही क्याप्सुल खराब भएर रङसमेत परिवर्तन भइसकेको पाइएको जानकारी स्थानीय तहबाट स्वास्थ्य कार्यालयमा आएको थियो ।

जानकारी आएलगत्तै प्रदेश मन्त्रालयमा कार्यालयको तर्फबाट जानकारी गराउँदा अर्को औषधि आएपछि मात्र खुवाउने भनी अभियान स्थगित गर्न पत्र आएकाले स्थगित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् । उनले मङ्गलबार नै सोबारे मन्त्रालयमा जानकारी गराइएकाले बुधबार केही थप औषधि आएकाले केही स्थानीय तहमा पछि पठाइएको क्याप्सुल खुवाउने कार्य सुरु भएको बताइन् ।

अन्य स्थानीय तहमा भने थप औषधि आएपछि मात्रै खुवाउने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलको भनाइ छ । उनले दस दिन बाँकी रहेको म्यादलाई एक्सपाएर भन्न नमिल्ने पनि बताइन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट करिब तीन दिनअघि प्राप्त भिटामिन क्याप्सुल बालबालिकालाई खुवाउनका लागि स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा पठाइसकेको थियो ।

सम्बन्धित स्थानीय तहले भिटामिन ‘ए’ खुवाउन महिला स्वास्थ्य स्वयम्सेविकालाई वितरणसमेत गरिसकेका थिए । जिल्लामा ८० हजारभन्दा बढी भिटामिन ‘ए’ क्याप्सुल प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त भई स्थानीय तहमा वितरण भएको थियो । स्वास्थ्य आपूर्ति केन्द्रको गम्भीर लापरबाहीका कारण बाँकेमा राष्ट्रिय भिटामिन ‘ए’ अभियान प्रभावित भएको छ ।

बाँकेमा बुधबार र बिहीबार राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियानको तयारी पूरा भइसकेको थियो । स्वास्थ्य कार्यालयले स्वयम्सेविकाको हातहातमा पारेको भिटामिन ‘ए’ क्याप्सुल फिर्ता गर्न लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १६:०७