नयाँ भवन निर्माणमा ढिलाइ हुँदा नेपालगन्जस्थित भेरी अस्पतालको उपचार सेवा प्रभावित भएको छ । अस्पतालको भवन निर्माणले पूर्णता पाउन नसक्दा उपचारमा समस्या भइरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले जानकारी दिए ।
गत भदौ २३ गते भेरी अस्पताल नेपालगन्जको ओपिडी भवनको निर्माण अवस्थाबारे जानकारी लिन पुगेका तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्माण व्यवसायीले मङ्सिर २३ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर वैशाख पहिलो सातासम्म समेत अस्पतालको भवन निर्माणले पूर्णता पाउन नसकेको छैन । हाल पनि अन्तिम चरणको निर्माण कार्य चलिरहेको अस्पतालका मेसु डा.चापागाईँले जानकारी दिए । अस्पतालमा हाल लिफ्ट, भर्याङ लगायत फिनिसिङको काम भइरहेको छ ।
‘अस्पतालमा बिरामीको अत्यधिक चाप छ,’ उनले भने, ‘नयाँ भवन हुँदाहुँदै शैय्या किन पाइएन भनेर अस्पताल प्रशासनलाई बारम्बार दबाब हुन्छ, तर भवन हस्तान्तरण नभई हामीले प्रयोग गर्न नसक्ने अवस्था छ ।’ भेरी अस्पतालमा १५० शय्याको स्वीकृति भए पनि हाल १६२ शैय्यामा बिरामीको उपचार भइरहेको छ ।
१६ शैय्याको आपत्कालीन कक्ष रहे पनि बिरामीलाई कुर्सीमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेसु डा. चापागाईँको भनाइ छ । भेरी अस्पतालमा निर्माण भइरहेको ओपिडी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि भेरी अस्पतालको स्तरोन्नति भई करिब ५०० शैय्याको हुनेछ ।
सङ्घीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले असारभित्र निर्माण कम्पनीले काम सम्पन्न गरी हस्तान्तरण हुनेगरी अन्तिम चरणको निर्माण कार्य भइरहेको बताए । ‘कोभिड लगायतका कारणले सुरुवाती चरणमा निर्माण कार्यमा ढिलाइ भयो,’ निमित्त आयोजना प्रमुख खनालले भने ।
उनका अनुसार अन्य प्रशासनिक भवन र अस्पताल भवन निर्माणमा फरक हुने भएकाले समेत केही ढिलाइ भएको देखिन्छ । उनका अनुसार फागुन १५ सम्म निर्माण सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नभएपछि असार सम्मका लागि म्याद थप भएको छ । फ्लोरिङका सामानहरू बाहिरी ल्याउनुपर्दा पनि निर्माण कार्यमा ढिलाइ भएको उहाँको भनाइ छ । अस्पताल भवनको निर्माण प्रेरा–सिएबी–भीमेश्वर जेभीले गरिरहेको छ ।
सत्यपाटी संवाददाता । बाँके