सूचनाको शक्ति - The Power Of Information

        

साउदीमा नेपाली नर्स माग, तलब दुई लाख

नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ । हाल झण्डै ६०० को संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन् । पछिल्लो समय थप २०० नर्सको माग आएको छ ।

बेस मल्टिनेसनल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुप एचएमजीले यो वर्ष २०० नेपाली नर्स माग गरेको हो । मनास्लु इन्टरनेशनल सर्भिसले साउदीमा नेपाली नर्सलाई अवसरबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त हस्पिटलमा कामका लागि जान चाहने नर्सहरुले डकुमेन्ट खर्च बाहेक अन्य खर्च व्यहोर्न नपर्ने जानकारी दिएको छ ।

सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले अस्पतालले एक वर्षको आउन जान टिकट, आवास, शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने बताए । नर्सहरूको लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च पनि अस्पतालले नै व्यहोर्नेछ । बिहीबार मात्रै १४ जना नेपाली नर्स साउदीमा रोजगारीका लागि जाँदैछन् ।

नर्सहरुका लागि नर्सिङमा आफ्नो करियर सुरु गर्ने र विश्व स्तरीय अस्पतालमा बहुमूल्य अनुभव प्राप्त गर्ने यो उत्कृष्ट अवसर रहेको श्रेष्ठले बताए । उनका अनुसार अङ्ग्रेजी भाषा राम्रो भएको, कम्युटरको ज्ञान भएको, २१ वर्ष उमेर पुगेको नर्सले आवेदन दिन सक्ने छन् । यसरी जाने नर्सहरुले मासिक १ लाख २० हजारदेखि २ लाख पाउने श्रेष्ठले जानकारी दिए ।

डा.सुलिमान अल हबिब हस्पिटलले विगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी दिँदै आएको छ । साउदी सरकारको मापदण्ड अनुसार नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । अस्पतालले आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र उनीहरूलाई राम्रोसँग हेरचाहको सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ ।

कार्यक्रममा साउदीको अस्पतालहरुमा कार्यरत नर्सहरुको पनि सहभागिता थियो । उनीहरुले आफूले मासिक तलव २ लाखसम्म कमाएको जानकारी गराएका थिए । उनीहरुले नेपालमा रोजगारीको अवसर नपाएपछि विदेसिन बाध्य भइरहँदा अष्ट्रेलिया, वेलायत, अमेरिकामा जान लाखौं खर्चन परिरहेको अवस्थामा साउदीमा थोरै खर्चमा जान पाउनु राम्रो अवसर रहेको बताए । सन् २०१९ बाट नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालमा कार्यरत छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १५:४९