सूचनाको शक्ति - The Power Of Information

        

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचियो, चार जनाको मृत्यु

जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा चार जनाको मृत्यु भएको छ ।

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । मृतक तथा घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।

गम्भीर घाइतेलाई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ ।

रुकुम पश्चिम प्रहरीका अनुसार मृतक चार जना र घाइते पाँच जना सबै मजदुरहरू हुन् । उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार घाइतेको उपचारका लागि नेपालगन्ज लैजान हेलिकप्टोरबाट खोजी भइरहेको छ । ‘बेलिब्रिज बनाइने क्रममै भाँचिएपछि कामदारहरू घाइते भएका हुन्,’ उनले भने । घाइते बोल्न सक्ने अवस्थामा नरहेको र केही भारतीय कामदारहरू समेत रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १५:०२