सूचनाको शक्ति - The Power Of Information

        

राहुल गान्धीको पुनरावेदन खारेज

भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले दुई वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन खारेज भएको छ । आफुलाई सुरत अदालतले सुनाएको दुई वर्ष जेल सजायविरूद्ध राहुलले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज गरिदिएको हो ।

एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए ।

एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको थियो ।

उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएपछि गान्धीलाई धक्का लागेको छ । अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले उनको सांसद पद पनि निलम्बन गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १२:४६