सूचनाको शक्ति - The Power Of Information

        

पुस्तकमाथि विमर्श

कली-कथनले उदांगो पारेको नेपाली समाजको रुप-कुरुप अनुहार

प्रत्येक पात्रले मुखुण्डो लिएर बसेका छन् । पाठक पनि भ्रमित बन्छन् । अस्थिर सामाजिक राजनीतिक समयको पार्श्वमा बसेर सुराक गर्छन् । तर एकदिन नाङ्गिन्छन् ।

वैचारिक धारहरुको लडाई नै समाजको गतिशिलता हो । र यो गतिशिलताले पश्चगमनको जोखिमपूर्ण किनार हुँदै अग्रगमनको सत्ता निर्माणमा सघाउन पुग्छ । त्यो सत्ताले कसको वकालत गर्छ सहजै भन्न सकिन्न । वर्गीय समाजमा लोकतन्त्रको उपादेयता र उपलब्धीहरु पनि वर्गीय नै हुन्छन् । वर्गीय समाजको सबैभन्दा तल्लो वर्गले देखेको ‘ओभरल’ सामाजिक व्यवस्थाको रुप–कुरुप अनुहार हो, कली उपन्यास ।

विजयपुरको भू–अवस्थितीमा सडक सोहोर्ने–बढार्ने गुलावकली पात्रले देखे, बताएका रहस्योद्घाटन गर्ने कथाहरु छन् यसमा । उपन्यासको कालभूमी पञ्चायत–गणतन्त्र र त्यस पश्चातको रुपान्तरित समाज व्यवस्था भए पनि त्यसको असली चरित्रहरु वर्तमान समयमा उत्तिकै मेल खान्छन् । उपन्यासको आकर्षण नै पात्रहरु हुन् । प्रत्येक पात्रले मुखुण्डो लिएर बसेका छन् । पाठक पनि भ्रमित बन्छन् । अस्थिर सामाजिक राजनीतिक समयको पार्श्वमा बसेर सुराक गर्छन् । तर एकदिन नाङ्गिन्छन् । उपन्यासका महिला पात्रहरु दुख्छन् ।

नारी उत्पीडन र त्यसका वर्तमान दृष्टिकोणसँग ठ्याक्कै मिल्ने चरित्र पात्रहरुले बोक्छन् । गुलावकलीले बाँचिआएको दर्दनाक कथा, स्वीपर भएर गुजारेको २० वर्षमा देखेको मानिस प्रवृत्ति र त्यसपश्चातका सामाजिक यथार्थतासँगको साक्षात्कारले महिलामाथिको डरलाग्दा कथाहरु उद्घाटन गर्छ । पात्रले बाँचेको चरित्रको मूल्य स्खलन रोचक लाग्न सक्छ । यो नारी चरित्रलाई मूल तत्व बनाएर लेखिएको उपन्यास मात्र होइन, उपन्यास लेखनमा पछिल्लो कालखण्डमा खड्किएको नारी चरित्रको निर्माण यो उपन्यासले पुरा गर्न सक्छ ।

कली पात्रले देखाएको दृढता नेपाली समाजमा स्थानान्तरण गर्न सकिँदैन ? तीन सय पेजको खदिलो उपन्यासमा समाजका यति धेरै कथाहरु उपकथाहरु समावेश छन् कि वर्तमान समयका कुनै विषयहरु सायदै छुटेका हुन सक्छन् । लागुऔषधको असरदेखि राजनीतिक धोकाधडी, मानवबिखनदेखि सांस्कृतिक विचलन, विकासे सुस्ततादेखि हत्या र थ्रिलरका विविध रहस्यमय कथाहरु यसमा छन् । यी कथाहरु भन्न छुट्टाछुट्टै पात्रहरु परक परक पृष्ठभूमी बोकेर उपन्यासमा देखापर्छन् ।

कहिलेकाही लाग्छ फरक फरक कालखण्डमा लेखिएका कथाहरु उपन्यासमा समावेश गरिएको छ । टालटुल पार्न खोजिएको जस्तो । जस्ले उपन्यासको मूल कथालय कुन हो भन्ने द्विविधा पर्छ । कम्तिमा लेखकले यी जोखिम नउठाएको भए हुन्थ्यो । रेशम विरहीले लेखेको उपन्यासले साँच्चिकै उपन्यास पढेको भाइव्रेसन दिन्छ । दिन सक्छ । ‘देव्रे आँखा’ निबन्धले म तानिएको थिइनँ । तर कली उपन्यास नपढि रेशम विरहीलाई बुझ्न सकिदैनँ ।

स्रोत : लेखकको फेसबुकबाट
प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ११:३४