नख्खु जेल ब्रेक गर्ने १५ योद्धामध्ये नरेश खरेल पनि एक हुन् । सीपी मैनाली, घनेन्द्र बस्नेत, नारद वाग्ले, हर्क खड्का, भिष्म धिमाल, जीवन मगर, धर्म घिमिरे, प्रदीप नेपाल, माधव पौडेल, वीरबहादुर लामा, अशोक न्यौपाने, राजन राजवंशी, गोपाल शाक्य, कामेश्वर हलुवाईसहित खरेल जेल ब्रेक गरेर हिँडेका थिए । जेल ब्रेक गरेको पाँच दिनपछि खरेलसहित घनेन्द्र, नारद, भिष्म र धर्म फेरि पक्राउ परेका थिए ।
खरेलले झापा आन्दोलनको क्रममा १६ वर्ष कष्टकर जेलजीवन बिताए । पाँच दशकदेखि निरन्तर राजनीतिमा सक्रिय खरेललाई एमालेको नेतृत्वमा आएपछि सहयोद्धा केपी शर्मा ओलीले अपमानित व्यवहार गरे । जबकि, झापा विद्रोहदेखि नै ओली र खरेल एउटै राजनीतिक मोर्चामा थिए । संगठन निर्माण र परिचालनको क्रममा खरेल झापा आन्दोलनमा सामेल भएका थिए । खरेलले विगतमा एमालेको पोलिटब्यूरो समस्यसम्मको जिम्मेवारी पाएका थिए । १० औँ महाधिवेशनमा खरेलले केन्द्रीय कमिटीमा आउने इच्छा राखेका थिए ।
तर, ओलीले केन्द्रीय सदस्यको प्रस्तावित सूचीमा खरेलको नाम परेनन् । त्यतिमात्रै होइन, खरेललाई हराउन ओलीले महाधिवेशन प्रतिनिधिहरूलाई चिट नै बाँडे । त्याग, तपस्या र निष्ठाको राजनीति गर्ने खरेललाई ओलीले किन निषेध गरे भन्ने प्रश्न गम्भीर बनेको छ । ओलीले मेडिकल माफिया दुर्गा प्रसाईदेखि गायिका कोमल वलीहरूलाई च्यापेर खरेलहरूलाई किन अपमान गरे ?
नरेश खरेलको जन्म ताप्लेजुङ जिल्लाको सिनाममा २००९ साल चैत २१ गते सामान्य परिवारमा भएको हो । २००९ सालमै खरेलका जेठो दाइ राजनीतिक गतिविधिमा संलग्न भएका थिए । २०१० सालको सुरुमा सामन्तहरूको थिचोमिचोको विरोध गर्ने क्रममा षडयन्त्रमूलक ढंगले उनको दाइको हत्या भयो । पछि भाउजु पनि बेपत्ता भइन । दाइकोे हत्या र भाउजुलाई बेपत्ता पार्नुको रहस्य खरेल परिवारले पत्ता लगाउन सकेन ।
दाइको हत्या भएको थाहा पाएकै दिनदेखि नरेशलाई कम्युनिष्ट आन्दोलन के रहेछ भन्ने उत्सुकता जागेको थियो । ताप्लेजुङमा पढ्दा शिक्षक प्रेमप्रकाश ढुंगानाले नरेशलाई वामपन्थी राजनीतिको सामान्य ज्ञान दिएका थिए । २०२४–२५ सालतिर नरेश झापा झरे । २०२६–२७ सालतिर फेरि इलाम गए । इलाममा भक्त देवान, विष्णु नवीन, हरि नेपाल, धर्मप्रसाद उप्रेती, लक्ष्मी उप्रेती, निर्मल ढुंगाना, मोहन खरेललगायतको संगतले नरेशलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्रेरित गर्याे ।
इलाममा डेढ वर्ष बसेपछि उनी फेरि झापा झरे । तत्कालीन साझा विद्रोहका सीपी मैनाली, आरके मैनाली, केपी ओली, रामनाथ दाहाल, मोहनचन्द्र अधिकारी, नेत्र घिमिरे लगायतसँग उनको भेट भयो । र, राजनीतिमा समान दृष्टिकोण भएका कारण उनी कमिटीमा संगठित हुँदै संगठन निर्माण र परिचालनमा खटिए । झापा आन्दोलन वास्तवमा किसान आन्दोलन थियो । सामन्ती शोषण, थिचोमिचो, अन्याय र अत्याचारको विरुद्धमा झापाका किसानहरू संघर्षमा उत्रिएका थिए ।
राजा महेन्द्रले भूमिसुधार लागू गर्ने, मोहीयानी अधिकार दिने कुरा गरेका थिए । किसान २२–२३ सालदेखि मोहीयानी अधिकार प्राप्तीको आन्दोलनमा थिए । किसानको आन्दोलनमा समर्थन गरेर खरेलसहित योद्धा अगाडि लागे । तर, सामन्तहरू किसानलाई मोहीयानी हक दिन चाहदैनथे । कानुनले दिएका अधिकारहरू प्राप्तीको आन्दोलन नै पछि गएर हिंसात्मक बन्यो । सामन्तहरूबाट मोहीमाथि आक्रमण गर्ने र अंगभंग गर्नेसम्मका काम भए । त्यसको विरुद्धमा किसान संगठित रुपमा उत्रन थाले ।
त्यसबेला अन्यायको विरोधमा बोल्ने, लेख्ने र विरोध प्रकट गर्ने कुनै माध्यम थिएन । त्यसैले सचेततापूर्वक जनताका असन्तोष, विरोध र आक्रोशलाई विद्रोहमा रुपान्तरण गर्ने प्रयन्त भएको थियो । राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र स्थापना गर्ने लक्ष्य, योजना र नीतिमा क्रान्तिकारी योद्धाहरू थिए । त्यो क्रममा लडाकू दस्ता निर्माण र परिचालन गर्ने कुराले झापामा विद्रोहको वातावरण तयार भएको थियो ।
मोहनचन्द्र अधिकारी प्रवासमा थिए । त्यो कुरा थाहा पाएर केपी ओलीले अधिकारीलाई लिएर विराटनगर आए । झापा आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने निष्कर्ष निकाल्दै अघि बढेको बेला खरेल गिरफ्तारमा परे । २०३० साल साउन २० गते खरेलसहित आरके मैनाली, नारद वाग्ले, सीता खड्का, हर्क खड्का, लिला कट्टेल लगायत गिरफ्तारमा परेका थिए । त्यो घटनापछि झापा जानु उपयुक्त हुँदैन भनेर ओली–अधिकारीहरू रौतहटतिर लागे । रौतहटबाटै उनीहरू पक्राउ परेका हुन् ।
गिरफ्तार हुने क्रममै शहीद चन्द्र डाँगीको हत्या भएको थियो । सुखानी हत्याकाण्डपछि धेरै तितरवितर भएका थिए । सहज विजयको आशा बोकेर आन्दोलनमा लागेका धेरै पलायन भइसकेका थिए । आफन्तहरूले पनि ‘तिमीहरुले पर्वतलाई कुहिनाले फोर्न खोज्दैछौँ, यो सम्भव छैन, त्यसैले आन्दोलन छोड’ भन्न थालिसकेका थिए । अभियानमा हिँडेका केही मरिइसकेका थिए । आत्मसमर्पण गर्ने, मर्ने कि आन्दोलन अगाडि बढाउने बाहेक अर्को विकल्प नै थिए । करिव ४० जनाको संख्या खुम्चिएर ८–१० जनामा झरिसकेको थियो । त्यही क्रममा शहीद चन्द्र पनि सम्पर्कबिहीन भएका थिए ।
उनी भारत पुगेका रहेछन् । उनीसँगै अभियानमा हिँडेकालाई पञ्चायती व्यवस्थाले हत्या गरेपछि आन्दोलन उठाउने उद्घोष गरेर नेपाल फर्केका थिए । नेपाल फर्केको तीन महिनामा उनी शहीद भएका थिए । खरेलसहितलाई पक्राउ गरेपछि त्यतिबेला एसपी पदमबहादुर मानन्धरले भनेका थिए, ‘झापा आन्दोलन सकियो ।’ खरेलले एसपीको उक्त भनाइको प्रतिवाद गरेका थिए । पञ्चायती व्यवस्थाको विरुद्ध नाराबाजी गरेका थिए । उनले भनेका थिए, ‘हामी गिरफ्तार हुँदैमा झापा आन्दोलन सकिँदैन ।’ त्यसपछि खरेललाई निरन्तर चरम यातना दिए । करिव ३० दिन जति झापामा प्रहरी हिरासतमा राखियो ।
त्यही क्रममा मुद्दा सुरु भयो । त्यो एसपीले सवै घटनाको कवुल गर्न दबाब दिएका थिए । तर, खरेलले स्वीकार गरेनन् । उनीहरूले भनेका थिए, ‘राजनीतिक रुपमा ती घटनाको दायित्व हामीसँग रहेको छ’ मात्रै भनिरहे । एसपीले माथिको निर्देशनअनुसार ‘जति घटना भएका छन्, ती सबैको जिम्मा तिमीहरूले लिनुपर्छ’ भनेका थिए । उनले सके मार्ने, नसके जेलमै मर्ने स्थितिमा पुर्याउने आदेश रहेको बताएका थिए । ३० दिन प्रहरी हिरासतमा राखेपछि झापा जेलमा लगेको थियो ।
झापा आन्दोलनमा करिव ५०० जति आन्दोलनकर्ता गिरफ्तार भइसकेका थिए । १० महिनापछि खरेलसहित आरके मैनाली, घनेन्द्र बस्नेत, हर्क खड्का, भिष्म धिमाल, दुर्गा अधिकारी, भोगेन राजवंशी लगायत करिव ४० जनालाई वीरगञ्ज जेल सारियो । १५ दिन वीरगञ्ज जेलमा राखेपछि खरेलसहित आरके मैनाली, अम्मर अधिकारी लगायतलाई केन्द्रीय जेल काठमाडौं ल्याइयो । कम जेल सजाय पाएका र प्रशासनले कम खतरा ठानेकाहरूलाई वीरगञ्जमै राख्यो । नारद वाग्ले, हर्क खड्का, भिष्म धिमाल, जीवन मगर लगायतलाई नख्खु जेलमा राख्यो ।
झापामै हुँदा यातना धेरै दिइयो । हत्कडी र नेलसिक्री लगाएरै राखेको थियो । प्रहरी दिउँसो झापा विद्रोहका अगुवालाई खोज्न जान्थ्यो, नभेटेपछि जेलमा हुनेलाई यातना दिन्थ्यो । झापा जेलबाटै उनीहरूले भाग्ने प्रयत्न गरेका थिए । तर, त्यो प्रयास सफल हुन सकेन । त्यसपछि वीरगञ्जमा पनि भाग्ने प्रयास गरे । तर, वीरगञ्जमा थोरै समय मात्र त्यहाँ राखेर काठमाडौँ ल्यायो । काठमाडौँ ल्याउँदा पनि केहीदिनसम्म नेलसिक्री नै लगाएको थियो । तर, पछि खोलिदिएको थियो ।
पञ्चायतले प्रहरी हिरासतमा सवैभन्दा बढी यातना दिएको थियो । टायरले पैतालामा कुट्ने, पिनले रोप्ने, खुर्सानीपानी नाकबाट खन्याउने, बेहोस नभइन्जेल कुट्ने गथ्र्यो । यातनाको त सीमै थिएन । पैतलामा कुट्दा छालामा पत्रहरू सबै उप्किन्थे । पैतलाबाट हड्डी देखिन्थ्यो । आत्मसमर्पण गरे सजाय माफी हुने आश्वासन पनि प्रशासनले दिन्थ्यो । तर, खरेल कहिल्यै झुकेनन् । जेलभित्र निर्दोश मानिसहरूको पंक्ति धेरै थियो ।
केन्द्रीय कारागारमा जेल कमिटी बनाएर संगठित गर्ने र प्रचार गर्ने काम पनि हुन्थ्यो । जेललाई नै खरेलहरूले जनताको आधार क्षेत्रजस्तो बनाएका थिए । जेलभित्र सडेका चामल दिने, बन्दीहरूलाई अत्यन्त दुःख दिने, सडेका सब्जी बेज्ने गर्थे । जेलरदेखि नाइकेसम्मले कैदीको पैसा खाने गर्थे । त्यसको विरुद्ध पनि जेलभित्रै आन्दोलन गर्ने क्रममा जेलब्रेक गर्ने योजना बनेको थियो । त्यहीबेला विद्यार्थी नेताहरू भीम रावल, राजेन्द्र पाण्डे, भीम न्यौपाने, माधव पौडेलहरू जेल परेका थिए ।
जेलब्रेक गरेर भगाउनका लागि राजेन्द्र पाण्डे, माधव पौडेलहरूले नक्सा दिएका थिए । विद्यार्थीहरू जेलबाट छुटे । त्यसपछि प्रशासनले खरेलसहित आरके मैनाली, मोहनचन्द्र अधिकारी र मोहन उप्रेतीलाई नख्खु जेलमा सार्यो । त्यसको केहीदिन अघि मात्रै झापामा प्रशासनले नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठलाई सुखानीमा लगेर हत्या गरेको थियो । लीला दाहाल, ठगीराज दाहाल, गोकर्ण कार्की र खगेन्द्र दाहाललाई केन्द्रीय कार्यालयबाट नख्खु जेलमा सार्ने बाहनामा योजनावद्ध ढंगले प्रशासनले मारेको थियो ।
३२ सालतिर नख्खु जेलमा पुगेका खरेलहरूले ३३ सालमा जेल ब्रेक गरेका हुन् । जेलब्रेक गर्नेमा खरेलसहित सीपी मैनाली, घनेन्द्र बस्नेत, नारद वाग्ले, हर्क खड्का, भिष्म धिमाल, जीवन मगर, धर्म घिमिरे, प्रदीप नेपाल, माधव पौडेल, वीरबहादुर लामा, अशोक न्यौपाने, राजन राजवंशी, गोपाल शाक्य, कामेश्वर हलुवाई थिए । जेलब्रेक गरेको पाँचदिनमा खरेल फेरि पक्राउ परे ।
जेलब्रेक गरेर खरेलहरू हेटौँडाबाट गाडी चढेर पथलैया पुगे । प्रहरीहरुले गाडीमा नै बढी निगरानी गरेको रहेछ । गाडीबाट झरेर एउटा पसलमा छिरे । त्यो पसल असइको रहेछ । अस्वभाविक खुट्टा र अनुहारबाट शंका गर्ने नै भयो । प्रहरीले खरेललाई समात्यो । मध्यराति भागेको भनेर गोली ठोक्ने योजना प्रहरीले बनाएको थियो । सोहीअनुसार प्रहरीले ‘इच्छा लागेको खानेकुरा माग’ भन्यो । त्यसपछि मध्यरातको १२ बजेतिर पथलैयाको जंगलभित्र लिएर गयो । गाडीबाट निकालेर भिरालो ठाउँमा पुर्याउँदै गर्दा वाकीटकीमा प्रहरीको कुरा भयो । त्यसपछि प्रहरी ब्याक भयो ।
गाडीमा हालेर फेरि वीरगञ्ज लग्यो । थप यातनासहित बयान लियो । वीरगञ्जको एसपी कार्यालयमा २७ दिन राख्यो । डाक्टरले खरेललाई ६ महिनाभन्दा बढी बाँच्दैन भनेर लेखिदिएका थिए । डाक्टरले अण्डा र दूध पनि दिनु भनेको थियो । जेल ब्रेक गर्दा उनीहरूको भागमा ४५–४५ रुपैयाँ परेको थियो । त्यही पैसाले केही दिन अण्डा र दूध खाए । त्यो पैसा सकिएपछि अण्डा र दूध दिएन । त्यसपछि ५६ रुपैयाँमा खरेलले पाइन्ट बेचेँ । तर, तीन दिनपछि पाइन्ट फिर्ता ल्याइदियो ।
कारण थियो, केही दिनमा यिनीहरूलाई मार्छन अनि तलाई भूत भएर तर्साउँछ भन्ने हल्ला चलाइदिएछन् । त्यतिबेलासम्म खरेलले ६–७ रुपैयाँ चलाइसकेका थिए । बाँकी रहेको पैसा मात्र दिए हुन्छ भनेर उसले पाइन्ट फिर्ता दियो, पैसा लग्यो । वीरगञ्जबाट नख्खु जेलमा ल्यायो । हत्कडीसहित नख्खुजेलको गोलघरमा राख्यो । करिव साढे ३ वर्ष गोलघरमा राख्यो । त्यहाँ कपडा र गुन्द्री कुहिने चिसो थियो । पुस माघमा त शरीर नै निदाउँथ्यो ।
बिहान र बेलुकाको खाना दिने बेलामा सन्चोविसन्चो सोध्यो भनेर खरेललाई ‘मानसिक सन्तुलन ठीक नभएको बस्ने कोठा’मा लगेर राख्यो । उक्त व्यक्तिले दिसा खाने, भित्तामा पोत्ने गरेर बसेको थियो । लामो समयसम्म गोलघरमा राख्यो । २०४६ साल पुस १९ गते राजा वीरेन्द्रबाट माफी भयो । राजनीतिक बन्दीहरू मध्ये अन्तिममा छुट्ने खरेलहरू नै थिए । २०३० साल साउन २० गतेबाट ०४६ साल पुस १९ गतेसम्म साढे १६ वर्ष खरेलले जेलजीवन बिताए ।
०४६ सालमा जेलबाट छुटेपछि खरेललाई पार्टीले झापा जिल्ला कमिटीको सचिव बनायो । त्यसपछि उनी अञ्चल कमिटीको सदस्य र राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य भए । सातौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएँ । आठौँमा पनि केन्द्रीय कमिटीको सदस्य भएर पोलिटब्यूरोको जिम्मेवारी सम्हाले । मेची अञ्चलको इन्चार्ज भएर काम गरेँ । सक्रिय राजनीतिको चाहना हुँदाहुँदै ओलीले खरेललाई सल्लाहकारमा सीमित गरिदिएका थिए । ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई पक्षपातपूर्ण व्यवहार गरेपछि पार्टीका लागि पाँच दशक रगत–पसिना बगाएको एउटा योद्धालाई सह्य हुने कुरै भएन ।
ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएर खरेलले केहीदिनअघि एमाले पार्टी परित्याग गरेका छन् । नेतृत्व आफ्ना गल्ती, कमजोरी सुधार गर्दै पार्टीलाई एकतावद्ध पार्नुको सट्टा अझ निरंकुश बन्ने र फरक मत राख्ने नेता तथा कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लिन भएको खरेलको बुझाइ छ । पार्टीमा इमानदार नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाउने र दक्षिणपन्थी र यथास्थितिवादी शक्ति र व्यक्तिसँगको साँठगाँठ अझ दरिलो बन्दै गएको उनको ठहर छ । यस्ता गतिविधिहरू टुलुटुलु रमिता हेरेर बस्न उनले उचित ठानेनन् ।
उनले कम्युनिष्ट आन्दोलन एकीकृत होस् भन्ने चाहेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि र कमजोरीको सही ढंगले मुल्यांकन गर्दै आफ्नो गल्ती कमजोरीप्रति आत्माआलोचित हुँदै अघि बढ्न सके वाम आन्दोलनलाई नयाँ धरातलबाट उठाउन सकिने विश्वास उनको छ । जनतालाई श्रम, उत्पादन र रोजगारसँग जोड्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशा समात्नु नै आजको वाम आन्दोलनको एकताको वैचारिक आधार बन्न सक्ने उनको तर्क छ ।
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं