सूचनाको शक्ति - The Power Of Information

        

१० खर्ब ८३ अर्ब नाघ्यो व्यापार घाटा

चालु आर्थिक वर्ष २०७९–०८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाघेको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी विवरण अनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू १ खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ । विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ । विभागको तथ्याङ्कअनुसार समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ०४ र निर्यातको हिस्सा आठ दशमलव ९६ प्रतिशत बराबर रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले रू ६ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । अर्थात् यो अवधिमा नेपालले भारतबाट रू ७ खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा रू ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो ।

अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले रू १ खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ । अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट रू १ खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा रू ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ । यो अवधिमा नेपालले युएईबाट रू २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा रू ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ ।

त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट रू १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने रू १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ । नौ महिना अवधिमा नेपालले सबैभन्दा धेरै रू एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र रू ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ ।

रू ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ । नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ । चैत मसान्तसम्ममा रू ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ । त्यस्तो अप्रशोधित तेल रू ३० अर्ब र अप्रशोधित पाम तेल रू २२ अर्ब बराबरको आयात भएको देखिन्छ ।

चैत मसान्तसम्ममा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा पनि पामतेल र सोयाबिन तेल देखिन्छ । यो अवधिमा रू ९ अर्ब २ करोड बराबरको पामतेल र रू ८ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल भारत निर्यात भएको छ । बढी निर्यात हुने वस्तुमा अलैँची तेस्रो नम्बरमा छ । यो अवधिसम्ममा नेपालले रू ६ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०७:१६