सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका नवनियुक्त मन्त्रीहरुको शपथ किन रोकियो ?

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ स्थगित भएको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरुको बुधबार शपथ हुने तय भएको थियो । कर्णाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले तीन जना मन्त्री सिफारिस गरेका थिए ।

सिनियर नेताको नाम सिफारिस नगरिएको विषयले असन्तुष्टि देखिएको छ । बुधबार ३ बजे हुने भनिएको मन्त्रीहरुको सपथ केन्द्रको दबाबमा रोकिएको बताइएको छ । मंगलबार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरण अनुसार कांग्रेसले तीनजना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सरकारमा पठाउने कांग्रेसले निर्णय गरेको थियो ।

तर, सिनियर नेतालाई बाइपास गरिएको भन्दै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देवाउवाको सचिवालयमार्फत मुख्यमन्त्री शर्मालाई दबाब आएपछि बुधबार तय गरिएको शपथ रोकिएको बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०७:०९