सूचनाको शक्ति - The Power Of Information

        

कित्ताकाट खोल्ने निर्णयलगत्तै मालपोतमा भूमाफियाको जमघट

मंगलबार राति अबेरसम्म देखिएको धनुषा मालपोतको कार्यालय ।

सरकारले जग्गा कित्ताकाट खोल्ने निर्णय गरेसँगै धनुषामा भूमाफियाहरू सक्रिय भएका छन् । मंगलबार बेलुका मन्त्रिपरिषदबाट जग्गा कित्ताकाट खोल्ने निर्णय लगतै धनुषा मालपोत कार्यालय भूमाफिया र कर्मचारीबीच नियम विपरीत कार्यालय बन्द रहेको समयमा अबेर रातिसम्म कित्ताकाटको काम भएको छ ।

जनकपुरधामस्थित सो मालपोत कार्यालयमा कार्यालय बन्द भएको समयमा प्रहरीको सुरक्षामा कार्यालयको मूल ढोका बन्द गरी कर्मचारीहरूले भूमाफियाहरू कार्यालयभित्रै बसाएर जग्गा कित्ताकाट सम्बन्धी कार्य गरेका छन् । नेपाल सरकारले बन्द रहेको जग्गा जमिनको कित्ताकाट फुकुवा गरे लगत्तै पुनः अर्को कुनै निर्णय हुन सक्ने भन्दै राति नै भूमाफियाहरू कर्मचारीहरूलाई मिलाएर रातारात काम गर्न लगाउने उद्देश्यले मालपोत कार्यालयकाम काम गराएका हुन् ।

भूमाफियाहरू कार्यालयभित्र कित्ताकाट काम गराईरहेको थाहा पाएलगत्तै स्थानीयको भीड हुन थालेपछि दुई प्रहरी काम हुने अवधिभरि सुरक्षा दिन कार्यालय बाहिर बसेका थिए । प्रहरीले मालपोत कार्यालयमा के भएकोबारे आफुहरूलाई थाहा नभएको बताएको छ । धनुषाका एसपी विश्वराज खड्काले भने ;मालपोत कार्यालयमा के भएको र प्रहरी किन पुगेकोबारे आफूलाई थाहा छैन, बुझ्ने प्रयास गर्छौं ।’

तर त्यहाँ पुगेका प्रहरी टोलीले एक्सिडेन्ट भएको जानकारी सूचना आएपछि आफूहरू यहाँ आएको बताएका थिए । एक्सिडेन्ट भएको बताए पनि प्रहरी अबेर रातिसम्म कार्यालय अगाडि नै बसिरहेको स्थानीयवासीले बताएका छन् । सोबारे जानकारी पाएलगत्तै इकागजकर्मी घटनास्थलमा पुग्दा भूमाफियाहरू कार्यालयभित्र पसिसकेका थिए, उनीहरू बसेर आएको गाडी पनि हिंडिसकेको थियो ।

कार्यालयको मूल गेटमा भित्रबाट ताल्चा लगाएर अबेर रातिसम्म कार्यालयमा बसेका थिए । स्रोतका अनुसार ती भूमाफिया र मालपोत कर्मचारीबीच सिद्धार्थ बैंकबाट आर्थिक कारोबार भएको छ । मालपोत कार्यालय देखिएका भूमाफियाको गाडी दिनभरि कहिले मालपोत कार्यालय त कहिले सिद्धार्थ बैंक तल घण्टौसम्म देखिएका थिए । सोबारे प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आफूलाई थाहा नभएको बताएका छन् ।

उनले भने ‘मालपोत कार्यालयमा अबेर रातिसम्म काम भएको बारे आफूलाई थाहा छैन । जहाँसम्म कित्ताकाटको कुरा हो त्यो मन्त्रिपरिषद्को निर्णय मात्र हो, प्रक्रियामा आएपछि मात्रै सुरु हुने हो ।’ कार्यालय प्रमुख सरोज सिंहलाई घटना बारे जानकारी लिन खोज्दा सिंहले भने आफू त्यहाँबाट सरुवा भइसकेको र नयाँ प्रमुख आएको बारे थाहा नभएको बताए ।मालपोत कार्यालय केही दिनदेखि कार्यालय प्रमुखविहीन छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १६:४१