बाघको आक्रमणबाट हेटौंडा–१५ रातोमाटे सयफुटमा दुई जना घाइते भएका छन् । बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङलाई बाघले आक्रमण गरेको थियो । घलानको दाहिने कुम, ढाडको बाँया साइड, छातिमा बाघले टोकेको छ भने बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ ।
घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइते घलानको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने थिङको अवस्था गम्भिर रहेको छ ।
सत्यपाटी संवाददाता । हेटौंडा