तराई क्षेत्रमा गर्मी निकै बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको हो । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बुधबार दिउँसो १ बजेको तापक्रम बुटवलमा ३८ डिग्री, भैरहवा र नेपालगन्जमा ३९, वीरगञ्जमा ३७, पाल्पामा ३५, काठमाडौँमा ३१ र मुस्ताङमा १९ डिग्री सेल्सियस मापन गरिएको छ ।
उक्त वेभसाइटका अनुसार बढ्दो तापक्रमका कारण हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
तापक्रम मापनअनुसार भैरहवामा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री र बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम थियो । तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रश्वासमा असर पुर्याउने चिकित्सकहरु बताउँछन् ।
यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कुनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने बुटवल अस्पताल प्रालिका फिजिसियन डाक्टर नन्दु पाठकको सुझाव छ ।
बढ्दो गर्मीसँगै झाडा पखाला, लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा.पाठकले बताए । प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले अघिल्लो वर्षको तुलनामा यसवर्ष छिटै गर्मी (तापक्रम) बढेको बताए ।
मानवीय व्यवहार र गतिविधि, उद्योग, कलकारखानाले तापक्रम वृद्धि र वातावरणमा असर गर्ने उनले बताए । फोहोर मैलाको उचिव व्यवस्थापन नहुँदा पनि हावा प्रदुषित हुने उनले बताए ।
जंगलमा आगलागीका घटनाले पनि वायु प्रदूषण र तापक्रम बढ्नमा भूमिका खेलेको चौधरीले बताए । तीनै तहका सरकारले मौसम र वातावरणीय सचेतनामा उचित ध्यान दिई नागरिकलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने चौधरीको भनाई छ ।
सत्यपाटी संवाददाता । काठमाडौं