सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान तयारी थालिएको छ ।

स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो ।

त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार चिकित्सक र परिवारको परामर्शपछि बुधबार एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी भइरहेको छ ।

राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् बुधबार बिहान साढे नौ बजे भारत लैजान लागिएको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले बताए ।

राष्ट्रपति पौडेलको चिकित्सकको टोली र परिवारका सदस्यपनि सँगै जाने थापाले बताए । उनका अनुसार भारतमा राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुनेछ ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएको राष्ट्रपति पौडलेको सचिवालयले जनाएको छ ।

सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका पौडेल फेरि छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । १८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०९:२०