सूचनाको शक्ति - The Power Of Information

        

फेसबुकले गरायो ५८ वर्षपछि मिलन

सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएका हुन् ।

हिमा  ज्ञवालीका  दाजु  डीपी  शर्मा  घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेटे । त्यसपछि बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गरे ।

दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन । बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाए ।

त्यसपछि उनी बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आए । बहिनी हिमाले भनिन्, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ ।

बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।”

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०८:१३