सूचनाको शक्ति - The Power Of Information

        

रविले भने, चोट लागेको बेला नुनचुक बोकेर नआउनु होला!

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्ना सवारी चालक घरको छतबाट खसेको घटनालाई राजनीतिकरण नगरिदिन आग्रह गरेका छन्।

सोमबार अपराह्न सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन्।

‘बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला,’ उनले लेखेका छन्, ‘मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला।’

लामिछानेका सवारीचालक शम्भु थापा सोमबार बिहान रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेको अवस्थामा फेला परेका थिए। आइतबार राति खाना खाएर सुत्न छतमा गएका उनी बिहान घाइते अवस्थामा फेला परेका थिए।

थापाको अहिले चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको लामिछानेले जानकारी दिएका छन्। आफू निरन्तर थापाको उपचारमा संलग्न चिकित्सकको सम्पर्कमा रहेको उनको भनाइ छ। थापाको स्वास्थ्य अवस्था स्थिर रहेको उनले बताएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १९:०५