सूचनाको शक्ति - The Power Of Information

        

५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक, वैशाख १५ सम्म बाँकी १८ जिल्लामा

नयाँ शैक्षिकसत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ देखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।

सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताए ।

उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको दाबी गरे । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरिरहेको झाले जानकारी दिए ।

उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुर्याइ विद्यार्थीहरूलाई वितरण गरेको बताए । उनले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताए ।

प्रबन्धक झाले कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीका क्रममा रहेका पुस्तकहरू ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे । उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको बताए ।

अहिले हिमाली जिल्लाहरूका सबै विद्यालयमा पुस्तकहरू पुगिसकेको उनले दाबी गरे । प्रबन्धक झाका अनुसार दुर्गम हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरूमा समेत पाठ्यपुस्तक पुगिसकेको छ ।

उनले पुस्तक छपाई गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरूमा पुस्तक पु¥याउन सफल भएको बताए । तीन वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्याएकाले सहज भएको उनको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको झाले जानकारी दिए । उनले पुस्तक बिक्रीवितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताए ।

केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४, प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६०० पाठ्यपुस्तक बिक्रीवितरण भएको छ ।

त्यस्तै, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगन्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २०० र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ ।

सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरूमा पुस्तक पुग्न बाँकी रहेको छ । जसमा सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक बिक्रीवितरण हुन बाँकी रहेका छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार बिक्रीवितरण हुन बाँकी जिल्लाहरूका केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याउने गरी काम गरिरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १६:४७