सूचनाको शक्ति - The Power Of Information

        

दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटियो

फाइल तस्वीर

नेपाल विद्युत् प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटिदिएको छ । तोकिएको समयमा विद्युत् महसुल नतिरेपछि प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले दाङस्थित सोना सिमेन्ट उद्योग र रोल्पास्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराइदिएको हो ।

कार्यालय प्रमुख हरि पाण्डेका अनुसार रकम भुक्तानीका लागि बारम्बर ताकेता गर्दा पनि भुक्तानी नगरेपछि लाइन काटिएको हो । ‘खपत भएको विद्युतको रकम भुक्तानी नगरेपछि कानुन अनुसार दुई सिमेन्ट उद्योगको विद्युत् काटिएको हो,’ उनले भने, ‘एउटै उद्योगको करोडौँ रकम उठ्न बाँकी भएपछि हामीले तदारुकता देखाएका हौँ ।’

प्राधिकरणका अनुसार सोना सिमेन्ट प्रालिले मात्रै ७४ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्नु बाँकी छ । सोमध्ये ३२ करोड ९४ लाख रुपैयाँ डेडिकेटेडतर्फको हो भने करिब ४१ करोड ६६ लाख रुपैयाँ यसबाहेक कै हो । त्यस्तै रोल्पा सिमेन्ट उद्योगले आठ करोड ८४ लाख रुपियाँ भुक्तानी गर्न नमानेपछि लाइन काटिएको हो ।

पाण्डेका अनुसार प्रदेश मातहत महसुल उठ्न बाँकी विभिन्न उद्योगमा ताकिता गरेपछि धेरै उद्योगले जरिवानासहित रकम भुक्तान गरेको तर उनीहरूले रकम तिर्न अटेरी गरेपछि बाध्यतावश लाइन काटिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १०:०६