सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीको ‘ढकेरी पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित वनस्पति उद्यान अर्थात् बाँकेको ढकेरी पार्कमा घुम्दै आन्तरिक पर्यटक ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित वनस्पति उद्यान पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेका कारण पछिल्लो समय पार्कमा आउने र टिकटक बनाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

ढकेरी वनस्पति उद्यानका सहायक वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते करिब एक हजार जनाले पार्कको अवलोकन गरेका छन् । टिकटक बनाउन दाङ, बर्दिया लगायतका जिल्लाबाट समेत पर्यटकहरू आउने गरेका छन् ।

सहायक वैज्ञानिक अधिकृत भण्डारीले भने, ‘अहिले ढकेरी पार्क आकर्षक र रोमाञ्चक पनि भएको छ ।’ अन्य समयमा सार्वजनिक बिदाको दिनमा २०० जनासम्म आउने, पार्कमा सामान्य दिनमा दैनिक २० देखि ५० जनासम्म आउने गरेका छन् ।

सुन्दर पार्कभित्र प्रवेश गर्दा मनै आनन्दित भएको अनुभूति हुने गरेको नयाँ वर्षमा पार्क घुम्न आएका आन्तरिक पर्यटकहरु बताउँछन् । चारैतिर फूलको पार्क भएकाले यहाँ घुम्न निकै आनन्द र पहाडको नजिकै भएका कारण गर्मी समयमा शीतलताको पनि अनुभूति हुने गरेको छ ।

पार्कभित्र विभिन्न थरिका फुलहरूले यतिबेला चारैतिर रङ्गिएको छ । पार्कभित्र विभिन्न प्रजातिका फूलसहित करिब चारसय प्रजातिका अन्य वनस्पति रहेका छन् । पार्कभित्र चेरी, डालिया, पिटुनिया लगायतका बहुबर्षीय र मौसमी फूलहरू छन् ।

पार्कमा अध्ययनका लागि काठमाडौं, पोखरा लगायतका विद्यार्थी आउने गरेका छन् । ढकेरी पार्कले वनस्पतिहरूको सङ्कलन, पहिचान र संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । ढकेरी पार्क अवलोकनका लागि भारतीय पर्यटक समेत आउने गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:३९