सूचनाको शक्ति - The Power Of Information

        

५८ वर्षपछि फेसबुकले गरायो दाजु–बहिनीको भेटघाट

बर्मा निवासी ८० वर्षीय डीपी शर्मा घिमिरे र नेपालगन्ज निवासी ७५ वर्षीया हिमा ज्ञवाली ।

सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएकी हुन् ।

हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेटे । त्यसपछि बर्मामा बस्ने दाजु नेपालगन्ज आएर बहिनीसँग भेट गरे । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन ।

बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाए । त्यसपछि उनी बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आए ।

बहिनी हिमाले भनिन्, ‘यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।’ उनका दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ ।

उनले बहिनी, आफन्त र परिवारसँग भेट हुने सबै आशा समाप्त भइसकेका बेला फेसबुकबाट आफन्तको खोजी गरेर नेपाल आएर भेट्न पाउँदा अति नै खुसी लागेको बताए । वि.सं. २००५ मा बर्मामा जन्मिएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो ।

त्यसको एक वर्षपछि उनीहरू नेपाल आएका थिए । नेपाल आएपछि चार–पाँच वर्ष चिठीपत्र आदानप्रदान भए पनि पछि पूर्णरूपमा सम्पर्क विच्छेद भएको थियो । उनका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा घुम्न जाँदा उतै बसेका थिए । उनका १२ छोराछोरी जन्मिएका थिए । १२ छोराछोरीमध्ये हिमा माइली छोरी हुन् ।

दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिए । सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै राम्रा र उल्लेखनीय काम हुन सक्छन् भन्ने थुप्रै उदाहरण छन् । तीमध्ये एक उदाहरण बनेको छ, ५८ वर्षपछि दाजु र बहिनीको भेटघाट ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:२०