सूचनाको शक्ति - The Power Of Information

        

अब नेपालमै पाइलट तालिम, दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ स्थापनाको अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन जनशक्ति उत्पादन गर्ने दुई वटा कम्पनीलाई लाइसेन्स दिएको छ । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएको मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई नेपालमै पाइलट उत्पादन गर्ने अनुमति प्रदान गरिएको हो ।

प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । नेपालमै फ्लाइङ स्कुल नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिका लगायतका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन् ।

अनुमति पत्र दिने निर्णय भएसँगै अब स्कुलले उड्डयन जनशक्ति उत्पादन गर्नेछन् । अन्य उड्डयन जनशक्ति नेपालमै उत्पादन भए पनि पाइलट भने नेपालमै उत्पादन हुन सकेका थिएनन् । अब योसँगै नेपालमै पाइलटसमेत उत्पादन हुने भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:०८