सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी हवल्दारद्वारा आफैलाई गोली हानी आत्महत्या

दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–८ निवासी प्रहरी हवल्दार बसन्त केसीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार करिब साँझ ८ः४० बजे एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवल्दार केसीले आत्महत्या गरेको हुनसक्ने अनुमान छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले घरायसी विवादका कारण आत्महत्या गरेको खुल्न आएको छ । घटनाबारेमा थप अनुसन्धानको काम भइरहेको छ ।’

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवल्दार केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा चार–पाँच दिन पहिले मात्रै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:००